२०८२ मंसिर २३, मंगलवार ०७:५४

धनुषाधाममा ‘रामायण बाटिका’ को निर्माण कार्य सुरू भएको छ ।

बहुप्रतिक्षित रामायण बाटिकालाई धार्मिक र सांस्कृतिक पर्यटनको प्रमुख केन्द्र बनाउने योजना अन्तर्गत यसको विकासमा मधेश सरकारले तीव्रता दिएका छन् । रामायणकालीन अवशेषहरू जीवन्त रहेको जनविश्वास रहेको यस पवित्रस्थलभित्र रामायण बाटिका निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको छ । रामायण वाटिकाका लागि प्रदेश सरकारले तत्काल १० लाख रूपैयाँ खर्चेर तीन विघामा घेराबेरा लगाउने काम गरेको छ भने रूख र बोटबिरूवाको उद्यान मात्र नभइ धर्म, संस्कृति, पर्यावरण र समृद्धिको समिश्रणको रूपमा रहेको यस भित्र रामायणकालीन झझल्को दिने संरचनाहरू निर्माण कार्य शुरु गरिएको छ ।

प्राचिन मिथिला र हाल मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि २२ किलोमिटर उत्तरतर्फ धनुषाधाम संरक्षित वन अवस्थित रहेको छ । जैविक विविधताले भरिपुर्ण ३ सय ६५ हेक्टरमा फैलिएको यस धार्मिक महत्वका वन जंगल भित्र करिब १८ फिट गोलाइ भएको एक विशाल सालको रूख । प्राकृतिक र सांस्कृतिक विशेषताले भरिपूर्ण धनुष आकारमा देखिएको सालको यस रूखलाई मधेश प्रदेश सरकारले धनुष सखुवा नामाकरण गरेको छ ।

रामायणमा वर्णन गरिएअनुसार सीताको विवाह हुनु पुर्व मिथिलाका राजा जनकले सर्तसहित राखेको धनुषलाई अयोध्या नरेश दशरथका जेष्ठ पुत्र रामले उचालेर पारेको तीन मध्ये एक टुक्रा त्यहाँ खसेको थियो । धार्मिक र सांस्कृतिक मिथिला नगरीको जानकी मन्दिर, सीता स्वयम्बर स्थल मणिमण्डप लगायतका मठ–मन्दिरमा पुजा दर्शनका लागि आउने श्रद्धालुहरू त्यहाँ पनि अनिवार्य रूपमा जाने गर्छन ।

धनुषाधामको पौराणिक महत्त्वलाई आधार बनाएर सुरू भएको यो सरकारी परियोजना केवल धार्मिक पर्यटनमै सीमित नभई मिथिलाका प्रकृति, संस्कार र मौलिक जीवनशैलीलाई समेत उजागर गर्नेछ । धनुषाधाममा निर्माण हुन लागेको बाटिकाले मुर्तरूप लिन सके नेपालको धार्मिक पर्यटनमा कोशेढुगां सावित हुने प्रदेश सरकारको दाबी छ ।

Comment


Related News

Latest News

Trending News