अपडेट 
२०७७ बैशाख १८, बिहीबार २१:२८

जनकपुरधाम । विगत एक महिनादेखि देशमा लकडाउन छ। कोरोना भाइरसका कारण देश ठप्प भएपछि हरेक क्षेत्र प्रभावित बनेको छ। प्रदेश २ मा सबभन्दा बढी समस्यामा फसेका छन् किसान। किसानका लागि लकडाउन ‘मर्नु न बाँच्नु’ भएको छ।

धनुषा-सिरहा जोड्ने कमला नदीको बगरमा करिब सयौं गरिब किसान खरबुजा, काक्रा, लौकालगायतका फलफूल खेती गर्दछन्। बगरमा खरबुजा, काक्रा र अन्य तरकारीहरू तयार भइसकेको छन्। तर, लकडाउनका कारण फलफूल र तरकारी बजारसम्म पुर्‍याउन नसक्दा किसानहरू मारमा परेका छन्।

बजार बन्द छ। गाउँघरमा घुमेर पनि बिक्री गर्न सकिन्थ्यो, तर प्रहरीले सडकमा उभिन पनि नदिएको किसानहरू बताउँछन्। उत्पादित फलफूल र तरकारी बिक्री गर्न नपाउँदा किसानले गरेको लगानी पनि डुब्ने खतरा बढेको छ।

बगरमा भेटिएकी धनुषाको जनकनन्दी गाउँपालिका-१ की जिलेबिया देवी सहनीले प्रहरीले बजार जान नदिएपछि उत्पादन गरिसकेको फलफूल र तरकारी बिक्री गर्न नपाएको गुनासो गरिन्। उनले न धनुषा सिरहाका कुनै पनि बजार जान नपाउँदा फलफूल तथा तरकारी बारीमै खेर जाने अवस्था आएको बताइन्। उनले भनिन्, ‘प्रहरीले बजार लग्नै दिएको छैन। २० हजार ऋण लिएर बगरमा खेती गरेको छु। अब त त्यो लगानी पनि डुब्छ।’ उनले चुनावका बेला ठूला आश्वासनसहित भोट माग्न आउने नेताहरू अहिले समस्यामा पर्दा नदेखिएको गुनासो पनि गरिन्।

यस्तै, सोही ठाउँका जागेश्वर सहनीले बगरमा दिनरात मेहनत गरेर खरबुजा र काक्रा उब्जाएको तर, लकडाउनका कारण खेतमै सड्ने अवस्था सिर्जना भएको बताए। ‘ऋण काढेर खेती लगाएको थिए’, उनले भने, ‘अहिले खरबुजा र काक्रा तयार भएर बिक्री गर्ने बेला भइसकेको छ। तर, बजार जाने अवस्था छैन। कसरी बिक्री गर्ने?’

बगर पुगे मन्त्री साह

किसानहरू लकडाउनका कारण समस्यामा फसेको थाहा पाएपछि प्रदेश–२ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह बुधवार कमला नदीको बगर पुगे। उनले धनुषाको कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सहिदनगर नगरपालिकाका विभिन्न ठाउँ पुगेर किसानहरूको पीडा सुनेका छन्।

मन्त्री साह निरीक्षण गर्न बगरमै पुगेपछि किसानहरु आश्चर्यचकित भएका थिए। किसान जागेश्वर सहनीले आफ्नो समस्या सुनाएपछि मन्त्री साह भावुक बनेका थिए। मन्त्री साहले समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। करिब दर्जनौं किसानसँग भेटेका मन्त्री साहले ढुवानीका साथ साथै बजार व्यवस्थापन छिट्टै गर्ने बताएका थिए।

उनले सिरहा र धनुषाका करिब १५ सय परिवार बगरमा आश्रित रहेको जानकारी किसानहरूबाट पाएको बताए। उनले तत्काल देखिएको ढुवानी र बजार व्वयवस्थापनको समस्या समाधान गर्ने र अगामी दिनमा योजनाबद्ध तरिकाले सहयोग गर्ने सोच बनाएको बताए।

‘विशेषगरी गरिब विपन्न तथा दलितहरूले बगरमा खेती गर्छन’, मन्त्री साहले भने, ‘उनीहरूलाई लगानीको समस्या हुन्छ। समयमा सिँचाइ, मलखाद र बिउविजन पाउदैनन् भन्ने थाहा पाए। अगामी दिनमा ती सारा समस्याहरू समाधान गर्छौ।’

Comment


Related News

Latest News

Trending News