२०८२ पुष १, मंगलवार ०८:१०

हत्या आरोपी अध्यक्ष फरार भएपछि वडाअध्यक्षलाई दिइएको कार्यवाहकको जिम्मेवारी खोसिएको छ ।

सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले वडाअध्यक्षलाई दिएको कार्यवाहक अध्यक्षको जिम्मेवारी अदालतले खोसिदिएको छ । हत्या आरोपी अध्यक्ष मण्डलले गएको मंसिर १७ गते वडा नम्बर ४ का वडाअध्यक्ष अशोक कुमार साहलाई गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । तर, गाउँपालिकामा उपाध्यक्ष हुँदाहुँदै वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै उपाध्यक्ष रेणुदेवी मण्डल अधिकार माग्दै अदालत पुगेका थिए ।

सोही मुद्दामा उच्च अदालत जनकपुरको राजविराज इजलासले वडाअध्यक्षलाई दिएको कार्यवाहक अध्यक्षको जिम्मेवारी खोसिदिएको हो । अदालतका न्यायाधीश उज्जवल शुक्लको इजलासले पालिकामा उपाध्यक्ष हुँदाहुँदै वडाअध्यक्षलाई अध्यक्षले कार्यवाहकको जिम्मेवारी दिनु प्रथम दृष्टिमै कानुनको प्रत्यक्ष उल्लंघन भएकोले निवेदनको अन्तिम टुंगो नलागेसम्म उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी बहन गर्ने कार्यमा कुनै बाधा अवरोध नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

विक्रम सम्वत् २०५५ सालमा गाउँपालिका अध्यक्ष मण्डल, उनका बुवा तत्कालीन गाविस अध्यक्ष गंगाराम मण्डलसहित सात जनाले स्थानीय बेल्हीचपेनास्थित मन्दिरका पुजारी जन्तनीदास बैरागीको हत्या गरेको भनि परेको मुद्दामा सप्तरी जिल्ला अदालतबाट १५ वैशाख २०७८ मा पक्राउ पूर्जी जारी भएको थियो । तर, एमालेबाट पालिका अध्यक्षमा निर्वाचित भएपछि राजनीतिक शक्ति र पहुँचकै आधारमा मण्डलमाथि कारबाही प्रक्रिया अगाडि बढ्न सकेको थिएन । हाल उक्त मुद्दा सप्तरी जिल्ला अदालतमा मुल्तबीमा राखिएको छ ।

१४ फागुन, २०७९ मा उक्त मुद्दाउपर सुनवाइ गर्दै अदालतका तत्कालीन न्यायाधीश हेमन्त रावलको इजलासले अदालतबाट जारी म्यादमा हाजिर हुन नआएको र प्रहरीले पक्राउसमेत नगरेकोले मुल्तबीमा राखिदिएको मिसिलबाट देखिन्छ । तर, उक्त मुल्तबी आदेशको केही महिनापछि २० वैशाख, २०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट मण्डल राजगढ गाउँपालिकाको अध्यक्ष निर्वाचत भएका थिए ।

Comment


Related News

Latest News

Trending News