राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको योजना अनुसार केहि नयाँ राजनीतिक पार्टी गठन भएको आरोप लगाउनुभएको छ ।
शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनमा कुन पार्टीले जित्ने वा हार्नेदेखि केहि नयाँ राजनीतिक पार्टी गठन समेत विदेशीको योजनामा भइरहेको आरोप लगाउनुभएको हो ।
उहाले मुलुकमा चरम बैदेशिक हस्तक्षेप भएको र संकटको अवस्थामा रहेको बताउनुभयो । अहिलेको अवस्थामा देशलाई जोगाउनका लागि राप्रपाको बिकल्प नभएको उहाको भनाइ छ । उहाले पुराना भनिएका कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट अब देश नबन्ने उल्लेख गर्नुभयो ।
त्यस्तै लिङ्देनले चूनाव नै नभएको अवस्थामा केहि नयाँ भन्नेहरुले प्रधानमन्त्री पद बाँडफाँड गर्न लागेको तर्क गर्नुभयो । मुलुकको वर्तमान अवस्था र संविधानबाट देशलाई दुर्घटनाबाट जान रोक्न नसकिने उहाले बताउनुभयो ।
लिङ्देनले देशलाई जोगाउनका लागि चूनावभन्दा अगाडी नै राजा, राजनीतिक दल, जेनजी युवा र अरु सरोकारवालाको सम्मेलनबाट नयाँ समझदारी कायम गरेर नयाँ व्यवस्था कायम गरेर जानुपर्ने बताउनुभयो ।


