मधेश प्रदेशमा जनमत पार्टीका कुख्यात मानिएका वसन्त कुशवाहालाई समावेश गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बुधबार मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।
मधेश प्रदेशको दोस्रो कार्यकालमा कुशवाहा पटक पटक मन्त्री बनेका छन् । रौतहट जिल्लाबाट समानुपातिक तर्फको सांसद कुशवाहा पहिलो पटक सरोज कुमार यादव मुख्यमन्त्री रहेको बेला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका थिए । तर उनले चरम आर्थिक अनियमिततामा देखिएपछि तत्कालिन मुख्यमन्त्रीले मन्त्रालय खोसेर केही दिन बिना विभागीय बनाएर पदमुक्त गरेका थिए ।
जनमतका अध्यक्ष डा.सीके राउतलाई आर्थिक रुपमा सन्तुष्ट पार्न सक्ने अपार क्षमता भएका कुशवाहा जनमत पार्टीकै मुख्यमन्त्री सतीश कुमार सिंह नेतृत्वको सरकारमा पर्यटन, उद्योग तथा वाणिज्य मन्त्री बनेका थिए । केही महिनामा नै पर्यटनका कार्यालय प्रमुखहरुसित रकम असुली र मन्त्रालयमा दलालहरु राखेर लुट मच्चाएको आरोप लागेको थियो ।
पर्यटन मन्त्री रहेका बेला कुशवाहाले मन्त्रालयमै दलाल परिचालन गरेका थिए । मुख्यमन्त्रीबाट सिंह हटेसंगै कुशवाहा पनि हटेका थिए । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादव नेतृत्वको सरकारमा उनलाई खेलकुद तथा समाजकल्याण मन्त्रालय दिएको छ ।
मन्त्रीको शपथग्रहण गरेको केही घण्टा भित्र एकजना लीलाधर कुशवाहालाई लिएर विशेष स्थानमा विशेष बैठक गरेका थिए । लीलाधर कुशवाहा सतीश कुमार सिंहको सरकारमा एमालेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका सत्रोधन प्रसाद सिंह कोइरीका लागि काम गर्थे । उनी सर्लाही जिल्लाको बलरा नगरपालिकाको स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत रहेको बताइन्छ ।


