अन्तराष्ट्रिय नयाँ वर्ष सन् २०२६ को आगमनसंगै धार्मिक नगरी जनकपुरधाम भरिभराउ भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भारतीय नागरिक र गाडीले भरिएको छ ।
जानकी मन्दिर पुग्ने सडकभरि भारतीय नागरिक तथा भारतीय नम्बर प्लेटका सवारीसाधनको लर्को नै लागेको थियो । अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरधाममा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको शुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा पर्यटकहरुको घुइँचो नै लागेको छ ।
बिहीबार बिहानैदेखि जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिरलगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको घुइँचो नै लागेको छ । जनकपुरधाम नगरभित्र भारतीय सवारीसाधनको चाप बढेको छ । त्यस्तै आन्तरिक पर्यटकीयहरुको पनि घुइँचो नै थियो । त्यस्तै धनुषाको जटही नाका र महोत्तरीको जलेश्वर नाका हुँदै भारतीय पर्यटकहरु अत्यधिक रुपमा जनकपुरधाम आएका छन् ।
नेपालका साथै भारतको बिहार, उत्तर प्रदेश, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, सिमला, उत्तराखण्डलगायत राज्यबाट हजाराँैको संख्यामा पर्यटकहरु जनकपुरधाममा माता जानकीको दर्शन गरी पूजाअर्चना गर्ने र जनकपुरधामस्थित नोचा पोखरी, मत्स्यपालन केन्द्र, मणिपाल, ढल्केवरस्थित पोखरीयालगायतका विभिन्न स्थानमा वनभोज गरी रमाइलो समेत गरेका छन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले मन्दिरमा आजको दिनमा अत्यधिक संख्यामा पर्यटकहरु आएकोमा खुशी व्यक्त गरे । सीताको जन्मभूमि रहेको कारणले समेत धार्मिक पर्यटकहरु जनकपुरधाम अत्यधिक रुपमा आउने गरेका छन् । नयाँ वर्षमा अत्यधिक रुपमा पर्यटकहरु आएका कारणले यहाँको व्यापार व्यवसाय समेत राम्रै चलेको छ ।
त्यसैगरी भारतीय पर्यटकले जनकपुरधामका अञ्जनी स्वीट्ससहित अधिकांश होटेल पनि भरिभराउ छन् । युवा उमेर समूहका बढी भारतीय युवाहरू जनकपुरधाममा आएका छन् । उनीहरूका कारण अहिले होटेल भरिभराउ भएको जनकपुरधामका होटेल व्यवसायीहरू बताउँछन् । भारतको बिहार राज्य सरकारले रक्सीलगायतका मदिराको विक्रि वितरण बन्द गरेकोले पनि धेरै जसो भारतीय युवा रमाइलो गर्न जनकपुरधाम आउने गरेका छन् ।


