नियम–कानुनलाई बेवास्ता गर्दै पर्साको वीरगञ्जमा रहेको एक क्यासिनोमा भारतका भोजपुरी कलाकारलाई ल्याएर लाखौँ रुपैयाँ बटुल्ने कार्यक्रम आयोजना गरिएको खुलासा भएको छ ।
नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रमले वीरगञ्जको शान्ति–सुरक्षा मात्र होइन, राज्यको कानुनी शासनमाथि नै गम्भीर प्रश्न उठाएको छ । वीरगञ्ज महानगरपालिकास्थित आदर्शनगर स्थित किङ क्यासिनोमा आयोजित विशेष मनोरञ्जन कार्यक्रममा नेपाली युवाहरू खुलेआम जुवा खेल्दै लाखौँ रुपैयाँ गुमाएको घटना सार्वजनिक भएपछि क्यासिनो व्यवस्थापन, प्रहरी प्रशासन र राज्य संयन्त्रको भूमिका माथि आलोचना चुलिएको हो ।
सन् २०२५ डिसेम्बर ३१ गते राति बाराका एक नेपाली युवाले क्यासिनोमा करिब २० लाख रुपैयाँ हारेको कुरा खुलासा भएको छ । जिबाको लत लागेको वीरगञ्जका एक यवाले भने, ‘यो घटना क्यासिनोभित्र नियमित रूपमा भइरहेका अवैध गतिविधिको एउटा उदाहरण मात्र हो, जसले राज्यको कमजोर निगरानी र स्थानीय प्रशासनको मौनतालाई उजागर गर्छ ।’ भारतीय कलाकार, मदिरा र उत्तेजक कार्यक्रम आयोजन गरी नयाँ वर्षको अवसरमा क्यासिनो भित्र आयोजना गरिएको विशेष कार्यक्रममा भारतको बिहारकी चर्चित भोजपुरी अभिनेत्री अम्रपाली दुबेसहित करिब आधा दर्जन महिला डान्सरहरूले भोजपुरी अश्लील गीत संगीत प्रस्तुत गरेका छन् ।
क्यासिनोमा राति करिब १० बजेदेखि शुरु भएको कार्यक्रममा मदिराबाट लठ्ठ भएका स्थानीय युवाहरुको ठूलो भीड देखिएको प्रत्यक्षदर्शीहरूले बताए । अम्रपाली दुबेले राति १२ बजे केक काट्दै नयाँ वर्षको स्वागत गरेकी थिइन् । त्यसपछि केही अश्लील भोजपुरी गीतहरूमा नृत्य प्रस्तुत गरिएको र राति २ बजेदेखि कार्यक्रम अझ छाडा बनेको थियो ।
नेपाली युवाको बाक्लो उपस्थिति क्यासिनोमा बारा र पर्साका ग्रामीण क्षेत्रदेखि वीरगञ्ज, कलैया, गौर र सिमरासम्मका नेपाली युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नेपालको प्रचलित कानुन अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ । तर किङ क्यासिनोमा नेपालीहरू खुलेआम प्रवेश गरी मदिरा सेवन, जुवा खेलाऊने क्रम जारी छ । वीरगञ्जका क्यासिनो लतले धेरै युवाहरू आर्थिक रूपमा बर्बाद भइसकेका छन् ।
कतिपयले सम्पति गुमाएर पारिवारिक विखण्डन र मानसिक संकट भोग्नु परेको घटनाहरू यसअघि पनि सार्वजनिक भइसकेका छन् । नेपाली नागरिकको अवैध प्रवेश, मदिरा सेवन, उत्तेजक कार्यक्रम र जुवाजन्य गतिविधि भइरहँदा पनि प्रहरी प्रशासनको प्रभावकारी निगरानी देखिँदैन । नियम–कानुन सबैका लागि बराबर नभए देखिएको छ ।
जेन– जी सरकारको बेलामा पनि वीरगञ्जको स्थानीय प्रहरी प्रशासन उदासीन नै देखिएका छन् । नेपालको प्रचलित कानुन अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ । तर ती क्यासिनोहरूले कानुनको उल्लंघन गर्दै नेपालीलाई प्रवेश दिइ ठूलो रकमको जुवा खेलाउने गरेको र नेपाली युवाहरु लाखौँ रुपैयाँ बर्बादी गरिरहेको पाइएको छ । सूचनाका आधारमा कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।
क्यासिनोभित्र नेपाली नागरिकहरू सहज रूपमा जुवा खेलिरहेको देखिए पनि क्यासिनो सञ्चालक र खेल्ने दुवै पक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने हो । तर यस विषयमा स्थानीय प्रहरी प्रशासन भने मौन देखिएको छ । केही साता अघि मात्रै नेपाल प्रहरीका अधिकारीहरूले ‘चुम्बकीय तास’ र आँखामा हाल्ने लेन्स प्रयोग गरी राजधानीस्थित एक जुवाघरमा भएको ठगीको घटनापछि त्यस्ता अनधिकृत उपकरणहरूले नेपाली क्यासिनोमा प्रवेश पाएको भन्दै सञ्चालकहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको थियो ।
काठमाण्डू जिल्ला प्रहरी परिसरले प्रविधिको दुरुपयोग गरी क्यासिनोमा जुवा खेलेर ठगी गर्ने गिरोहमा संलग्न भएको भन्दै चार भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरेको छ । केही महिनाअघि तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले वीरगञ्जस्थित आदर्शनगरका दुई क्यासिनो– लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनोको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको थियो । पछिल्लो समय नेपाली नागरिकहरूले क्यासिनोमा जुवातास खेल्दा गम्भीर सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक समस्या भोग्नु परेको भन्दै त्यसको निगरानी बढाउन उनले पहल गरेका थिए । त्यतिबेला एक नेपाली नागरिकले क्यासिनोमा ४० लाख रुपैयाँ गुमाएको घटनाबारे जानकारी पाएपछि तत्कालीन मुख्यमन्त्री सिंहले अनुगमन गरेका थिए ।


