२०८२ पुष २०, आईतवार १६:२२

सर्लाहीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित भारतीय नम्बरको कार नियन्त्रणमा लिएको छ।

बलरा नगरपालिका–३ लक्ष्मीपुर गाउँ नजिक भारततर्फ जाँदै गरेको बीआर ३३ पीए ३७०१ नम्बरको कारलाई सशस्त्र प्रहरीले चेकजाँचका क्रममा रोकेपछि कारभित्र लुकाइ राखिएको गाँजा फेला परेको हो।

आइतबार बिहान करिब ३ बजे विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म मलंगवाका डिएसपी लिलाबहादुर कार्कीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ चालकले कार भगाउन खोजेका थिए। सो क्रममा कार विजुलीको पोलमा ठोक्किएपछि चालक कार छाडेर सीमापारी भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारको सूक्ष्म जाँच गर्दा फल्स बटन बनाएर लुकाइ राखिएको अवस्थामा ८० किलो ९ सय ग्राम गाँजा बरामद भएको हो। बरामद गाँजा र कारलाई नियन्त्रणमा लिएर हाल सीमा सुरक्षा गुल्म मलंगवामा राखिएको छ।

सशस्त्र प्रहरीले बरामद गाँजा सहितको कारलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाउने तयारी भइरहेको जानकारी दिएको छ।

यद्यपि, स्थानीयवासीहरू भने सर्लाहीको सीमावर्ती क्षेत्रबाट भारततर्फ लागुऔषध तस्करी नियमित रूपमा हुँदै आएको दाबी गर्छन्। उनीहरूका अनुसार कहिलेकाहीँ मात्रै तस्कर र सुरक्षाकर्मीबीच कुरा नमिल्दा यस्ता घटना सार्वजनिक हुने गरेका छन्। यस विषयमा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया भने आएको छैन।

Comment


Related News

Latest News

Trending News