२०८२ पुष २१, सोमबार ०८:५४

नेकपा एमालेको उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक रघुवीर महासेठ दम्पतिले जेन– जी आन्दोलनको क्रममा आगजनी गरेको घरमा पत्रकारहरुसंग भेटघाट गरेका छन् ।

जेन– जी आन्दोलनमा जलाइएको घर अहिले रंगरोगनसहित निर्माण भइरहेकै बेला पूर्वमन्त्रीसमेत रहेका नवनिर्वाचित उपमहासचिव महासेठले निर्माणाधिन घरतर्फ हेर्दै आफ्नो घर प्रतिशोध साँध्नका लागि जलाएको आरोप लगाए । उनले आफूले भ्रष्टाचार गरेर घर नबनाएको बताए । आफ्नो घर आगजनीको विषयमा बोल्दै उपमहासचिव महासेठले ‘मेरो घर जानीजानी जलाइएको हो’ भन्दै आफूले भ्रष्टाचार गरेर घर नबनाएको स्पष्ट पारे । उनले प्रश्न गर्दै भने, ‘के एमालेका नेता धनी हुनु गलत हो ?’

राजनीतिक प्रसंगमा उपमहासचिव उपमहासेठले वर्तमान सरकारले चुनाव गराउन नसक्ने आरोप लगाएका छन् । जनकपुरधाममा आइतबार उपमहासचिव महासेठले सरकारले नैतिकताविपरीत सत्ता सञ्चालन गरिरहेको बताउँदै निष्पक्ष चुनाव हुनेमा आशंका व्यक्त गरे । उपमहासचिव महासेठले भने, ‘सरकारमा बसेर खुल्लमखुल्ला गठबन्धन गर्ने, सिट बाँडफाँट गर्ने र को प्रधानमन्त्री बन्ने भन्ने जस्ता अराजनीतिक क्रियाकलाप गरिरहेकाले यिनीहरुसंग निष्पक्ष चुनाव गराउँछ भनेर भन्नु शंकाको कुरा हो । बरु उनीहरुलाई राजनीति नै गर्नुछ भने सरकारबाट राजीनामा दिनुपर्छ, होइन भने प्रधानमन्त्रीले त्यस्ता व्यक्तिहरूलाई बर्खास्त नै गर्नुपर्छ । त्यसो हुन सक्ने अवस्था भएमा राजनीतिक दल र नेपाली जनताले चुनाव हुनेमा विश्वास गर्छन् ।’ उनले पार्टीका शीर्ष नेताहरूलाई काठमाण्डुमै थन्क्याएर चुनाव गराउन नसकिने टिप्पणी गरे । अहिलेको सरकारले साँच्चिकै चुनाव गराउन चाहेका छन् भने पार्टीका नेताहरूले पाएका जिम्मेवारीबाट हटाउनुपर्ने उनको भनाइ छ ।

जेन– जी आन्दोलनको सवालमा उपमहासचिव महासेठले देशव्यापी रुपमै एमालेका १५८ वटा घरमा आगजनी गरिएको र नेपाली कांग्रेसका घरहरूमा पनि आगजनी भएको दाबी गरे । उनले ती घटनामा एमालेका प्रतिस्पर्धी दल कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता संलग्न रहेको आरोप लगाए । नख्खुस्थित जेल ब्रेकको घटनामा समेत ती दलका कार्यकर्ताको संलग्नता रहेको उनले बताए ।

जेन–जी आन्दोलनको क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको व्यवहारप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार क्रियाकलापको संज्ञा दिए । सो क्रममा उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधिसभा पुनःस्थापना हुनै पर्ने अडान दोहो¥याए । उनले गैरसंवैधानिक सरकारले प्रतिनिधिसभा विघटन गरेको दाबीसमेत गरे ।

जेन–जी आन्दोलनको नाममा बनेको वर्तमान सरकारको कदम कानुनविपरीत रहेको बताए । यदि सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना नभए एमाले चुनावमा जाने र त्यसका लागि पार्टी आन्तरिक रूपमा तयारीमा जुटेको उनले बताए । उनले आफू धनुषाको क्षेत्र नम्बर ४ बाटै चुनावी प्रतिस्पर्धा गर्ने ईच्छासमेत व्यक्त गरे ।

सो क्रममा नेतृ जुली कुमारी महतोले पुनः उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरिन् । उनले पार्टीले आफूलाई मुलुकको जुनसुकै क्षेत्रबाट उम्मेदवार बन्ने भने पनि उनले धनुषाको क्षेत्र नम्बर ३ बाटै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइन् ।

Comment


Related News

Latest News

Trending News