शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले मधेशका सामुदायिक विद्यालयबारे बढी गुनासो आउने गरेको बताएका छन् । जनकपुरधाममा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री पुनले सामुदायिक विद्यालय, शिक्षक र व्यवस्थापन समितिको बारेमा सबैभन्दा बढी गुनासो आउने गरेको बताए ।
मन्त्री पुनले भने, ‘सामुदायिक विद्यालयको विषयमा थरीथरीका गुनासो आउने गरेका छन् । सातवटा प्रदेश मध्ये आधाभन्दा बढी मधेश प्रदेशका सामुदायिक विद्यालयको गनासो म कहाँ आएको छ,’ उनले अघि थप्दैँ भने, ‘विद्यालय भवन भएको, शिक्षक भएको तर पढाइ नभएको, शिक्षक, व्यवस्थापन समितिले बदमासी गरेका कुराहरु सम्बन्धि गुनासो आउने गरेको छ । मैले त्यस्ता अव्यवस्थित विद्यालयको नाम संकलन गर्न टोलि पठाएको छु ।’
उनले आफू मन्त्री बन्नु अघि किताब बेच्न तराई मधेशका जिल्लाहरूमा पुग्दा शिक्षाको अवस्था दयनीय पाएको बताए । उनले पहिले दुर्गम हिमाल–पहाडमा पढाउने प्रायः शिक्षक मधेशबाट विज्ञान गणितका शिक्षकहरू हुने गरेको स्मरण गर्दै उनले पछिल्लो समय मधेशको शिक्षाको स्तर खस्केको बताए ।
आगामी २०८३ वैशाख मसान्तसम्म मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने सरकारले लक्ष्य लिएको उनको भनाइ छ ।


