२०८२ पुष २५, शुक्रबार ०८:१७

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टी छाडेका छन् ।

संयोजक पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई शायराना अन्दाजमा मार्मिक पत्र लेख्दै रहबरले नेकपा त्यागेका हुन् । बिहीबार प्रचण्डलाई लेखेको पत्रमा उनले साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको भन्दै यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने उल्लेख गरेका छन् । पत्रमा उनले हिन्दी सायरी समेत समेटेका छन् । ‘यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ । साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु’, राजीनामापत्रमा भनिएको छ ।

अन्सारी २०७९ को प्रदेशसभा निर्वाचनमा पर्सा १ (१) मा माओवादी केन्द्रबाट विजयी भएका थिए । उनले केही समयअघि मधेश प्रदेशसभामा विद्रोह गरेका थिए । उनकै विद्रोहका कारण जितेन्द्र सोनल नेतृत्वको सरकार ढलेको थियो । राजीनामा किन दिएको बारे उनले भने ‘मुख्य कुरा, जहाँ विचार मिल्दैन र आफूले जुन उद्देश्यका साथ राजनीतिमा होमिएको हो, त्यो उद्देश्य पूरा गर्न सकिने अवस्था रहँदैन भने त्यहाँ बसिरहनुको अर्थ हुँदैन। हामी देश र जनताको सेवा गर्ने भनेर राजनीतिमा आएका हौं।

पार्टीले सही विचारधारा र काम गर्ने स्पेस नदिएपछि त्यहाँ बसिरहनु उचित नलागेर मैले राजीनामा दिएको हुँ ।’

Comment


Related News