२०८२ पुष २६, शनिबार ०७:३०

जेन– जी आन्दोलनपछि परम्परागत रुपमा हुँदै आएको पार्टी सभापति र एकै व्यक्ति पटकपटक सांसद हुने परम्परा र प्रवृत्तिविरुद्ध नेपाली कांग्रेसभित्र विद्रोहको स्वर चर्किएको छ ।

नेतृत्व परिवर्तन र एकै व्यक्ति दर्जनभन्दा बढी पटक हारे पनि जिते पनि सोही व्यक्ति सांसद र मन्त्री पनि भइरहने परिपाटीको अन्त्यका लागि आफूहरुले विशेष महाधिवेशनमार्फत पार्टी संस्थापनमाथि दबाब सृजना गर्न लागिएको दाबी कांग्रेस मधेश प्रदेश समितिका सदस्य जीवनाथ चौधरीले गरे ।

कांग्रेसको आसन्न विशेष महाधिवेशनमा मधेश प्रदेशको विभिन्न जिल्लाबाट अधिक पदाधिकारी र प्रतिनिधिहरु सहभागी हुने उनले स्पष्ट पारे । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते हुन लागेको विशेष महाधिवेशनमा मधेश प्रदेशबाट केही पदाधिकारी र अधिकांश महाधिवेशन प्रतिनिधि सहभागी हुने पार्टी मधेश प्रदेश सदस्य चौधरीले जानकारी दिए । विषेश गरी मधेश प्रदेशको सिरहा, सर्लाही, महोत्तरी र रौतहटबाट विशेष महाधिवेशनमा बहुमत पदाधिकारी र प्रतिनिधि भाग लिने भएका छन् ।

सिरहा, सर्लाही, महोत्तरी र रौतहट जिल्लाको विभिन्न निर्वाचन क्षेत्रबाट अत्यधिक संख्यामा प्रतिनिधिहरु सहभागी हुने भएका छन् । सिरहाका चार वटै निर्वाचन क्षेत्रमा १ सय ३ जना प्रतिनिधि छन् । जसमध्ये क्षेत्र नम्बर १ मा २५ जना रहेकामा १९ जना, क्षेत्र नम्बर २ मा २६ जना रहेकामा १२ जना, क्षेत्र नम्बर ३ मा २६ जना रहेकामा २४ जना र क्षेत्र नम्बर ४ मा २५ जना रहेकामा १९ जान जान लागेका छन् ।

यसमध्ये १०/१५ जना बिहीबार नै गइसकेको, केही प्रतिनिधि शुक्रबार पनि गएको र अन्य बाँकी प्रतिनिधि शनिबार चार वटै क्षेत्रबाट जाने जिल्ला सचिव शैलेन्द्र यादवले बताए । यससंगै सिरहा जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनमा सहभागी हुने भएका छन् । सिरहा जिल्लाका सभापति रामचन्द्र यादवबाहेक उपसभापति सुनिल कुमार महतो, सचिव शैलेन्द्र यादव, सहसचिव रामबाबु यादव, प्रवक्ता गंगा प्रसाद यादवलगायत जाने छन् ।

त्यस्तै अर्का उपसभापति जागेश्वर मण्डल भने तटस्थ बसेका छन् । त्यस्तै सप्तरी, धनुषा, बारा र पर्सा जिल्लाबाट भने संख्यात्मक रुपमा सहभागी हुने भएको देखिन्छ । तर धनुषालगायतका विभिन्न जिल्लाबाट करिब ४० प्रतिशतभन्दा बढी पदाधिकारी र प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी हुने प्रदेश सदस्य चौधरीको भनाइ छ ।

मधेश प्रदेशको धनुषा जिल्लाबाट हँसपुर नगरपालिकाका मेयरसमेत रहेका पार्टीको प्रदेश कोषाध्यक्ष प्रदीप यादव, कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियार, प्रफुल्लराज घिमिरे, धीरेन्द्र मोहन झा, दिगम्बर राय, कोमलकान्त झा, मुक्ता यादव, सम्झना वर्मालगायत ३० जनाभन्दा बढी पदाधिकारी र प्रतिनिधिसमेत विशेष महाधिवेशनमा सहभागी हुने प्रदेश सदस्य चौधरीले दाबी गरे । उनले सप्तरी, धनुषा, बारा र पर्सा जिल्ला पार्टीका केही जिल्ला सभापतिसहितका पदाधिकारी र प्रतिनिधिहरुको संख्या वृद्धि हुने क्रम जारी नै रहेको स्पष्ट पारे ।

तर यता कांग्रेस मधेश प्रदेशअन्तर्गतका जिल्लाका सभापतिहरूले पार्टी विधान विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । संस्थापन पक्षले भने पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको स्पष्ट पारिएको छ । कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधान विपरीत हुने उल्लेख गर्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ ।

Comment


Related News

Latest News

Trending News