२०८२ पुष २६, शनिबार ०७:३५

धार्मिक तथा सांस्कृतिक धरोहर रामायण भवनको पुनर्निर्माण तथा जीर्णोद्धारका लागि प्रक्रिया अघि बढाइएको छ । यस क्रममा पुरातत्व विभागसहितको विज्ञ टोलीले जनकपुरधामस्थित जीर्ण रामायण भवनको निरीक्षण गरेका छन् ।

उक्त भवनको चारवटै भित्ता र माथि छतमा राम चरित मानस लेखिएको छ भने विभिन्न रामायणकालीन घटनाहरु दर्शाइएका चित्रांकनसमेत रहेको छ । उक्त भवन आन्तरिक कलहका कारण लामो समयदेखि उपेक्षित बनेपछि बन्द रहेको थियो । उक्त विज्ञ टोलीले भवनको विभिन्न भागलाई फोडेर भवनमा पुगेको क्षतिबारे अध्ययन गरेको जनाइएको छ ।

निरीक्षण पश्चात विज्ञ टोलीमध्येका प्रा.डा. गोकर्णमान माथुराले रामायण भवनको भुइँ तल्लाको अवस्था राम्रो रहे पनि माथिल्लोको मुख्य तल्ला भने कमजोर देखिएको बताए । यसलाई भत्काएर पुनर्निर्माण गर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ । निरीक्षण टोलीमा पुरातत्व विभागका ई. गोविन्द महर्जन, अमृता महजर्Þन, ई.भीम अधिकारी र गुठी संस्थानका ई. राजीव साहलगायतका सहभागी रहेका छन् ।

टोलीले रामायण भवनको वर्तमान संरचना, ऐतिहासिक महत्व तथा संरक्षणका सम्भावनाबारे अध्ययन गर्दै पुनर्निर्माण वा जीर्णोद्धारको उपयुक्त मोडालिटी तय गरिने उनले प्रस्ट्याए । निकट भविष्यमा आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र कार्य प्रारम्भ गरिने उनले बताए । यस विषयमा जानकारी दिँदै मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष निर्मल कुमार चौधरीले रामायण भवन धार्मिक, सांस्कृतिक तथा पर्यटनको दृष्टिले अत्यन्त महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण र समुचित पुनःस्थापनामा सबै पक्ष गम्भीर रहेको बताए ।

राम चरित मानसमा आधारित रामायण भवन राम चरित मानस आउने युवा पुस्तामा समेत हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको रामायण भवन संरक्षण अभावमा लामो समयदेखि जीर्णाद्धारको प्रतीक्षामा रहेको छ । तुलसी दासद्वारा रचित रामचरित मानस लेखिएको उक्त भवनको संरक्षण तर्फ लामो समयदेखि बेवास्ता गर्दा भवनको अस्तित्व नै मेटिने कगारमा पुगेपछि उक्त टोलीले पहलकदमी लिएको छ ।

धनुष सागर पोखरीको डिल अवस्थित रामायण भवनको भित्री भित्तामा रामचरित मानस लेखिएको छ भने सीतारामको विवाहसंग सम्बन्धित तस्बिरहरु कुँदिएका छन् । केही वर्ष अगाडिसम्म रामायण भवन श्रद्धालु भक्तजनहरुको लागि आकर्षणको केन्द्र नै थियो । भने उक्त भवनको तल्लोस्थल श्रद्धालुहरुका लागि विश्राम कक्ष थियो । तर उक्त भवन जीर्णसंगै अहिले सो स्थल व्यवसायीहरुको कब्जामा परेको छ ।

जनकपुरधाम आउने पर्यटकहरु जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा पूजा गरेपछि उक्त भवनमा समेत पूजा अर्चना गरी विश्राम गर्ने गरेका थिए । लामो समयदेखि कसैले वास्ता नगर्दा सत्यसाई केन्द्रले योजनावद्ध रुपमा रामायण भवनमा कब्जा जमाएको थियो । त्यसपछि गौ संरक्षण मञ्चले उक्त अतिक्रमित भवन खाली गराए पनि सोको जीर्णोद्धारका लागि सरोकारवालाले चासो नै देखाएनन् ।

मञ्चका अध्यक्ष जगदीश महासेठले रामायण भवनमाथि रहेको केन्द्रको कब्जा हटाउन प्रशासनलाई शुरुमा गरे पनि स्थानीय प्रशासनले पनि चासो नलिएपछि उनी तत्कालीन पुनरावेदन अदालत जनकपुमा मुद्दा नै दिए । सो रिटपछि अदालतले सत्यसाई केन्द्रलाई रामायण भवन खाली गर्न फैसला गरेको थियो । दर्जनभन्दा बढी युवा क्लबले धार्मिक सांस्कृतिक नाममा विभिन्न खाले उत्सव गर्ने देखि छठ पर्वमा पोखरीको साजसज्जा गर्ने गरे धार्मिक धरोहरकै रक्षा नगरी निहित स्वार्थमा केन्द्रित हुनु दुर्भाग्य रहेको उनको भनाइ छ ।

रामायण भवनको नाममा काठमाण्डुमा अक्षय कोष पनि रहेको छ । सो कोषमा ३ करोड ३ लाख रुपैयाँ जम्मा रहेको बताइन्छ । उक्त रकमको ब्याजबाट पनि रामायण भवनको जीर्णोद्धार गर्न सकिने स्थानीयवासीहरु बताउँछन् । तर अक्षय कोषमा रहेको रकमको विषयमा अहिलेसम्म जनकपुरधामबासी समक्ष सार्वजनिक नगर्नुले सो पैसामा समेत अनियमितता भएको हुन सक्ने स्थानीय युवाहरुले आरोप लगाएका छन् । रामायण भवनको नाममा रहेको ११ बिघा जग्गा बेचेर सो अक्षय कोष खडा गरिएको थियो ।

रामायण भवनको नाममा धनुषाको धारापानीमा रहेको ११ बिघा जग्गामा नेपाली सेनाले क्याम्प निर्माण गरेपछि सो जग्गा सेनाले नै खरिद गरेको थियो । नेपाली सेनाले सो जग्गा ४ करोडमा खरिद गरेको थियो । सोही ४ करोड रुपैयाँको काठमाडौँमै अक्षय कोष खडा गरिएको थियो तर अहिले अक्षय कोषमा ३ करोड ३ लाख रुपैयाँ मात्रै रहेको र बाँकी ९७ लाख रुपैयाँ अनियमितता भएको युवाहरुले बताएका छन् । तर अक्षयकोषको विषयमा गुठी संस्थान जनकपुरधाम भने मौन रहेको छ ।

२०७१ सालमा केन्द्रीय गुठी कार्यालयले रामायण भवनको सौन्दर्यीकरण एवं जिर्णोद्धारका लागि २५ लाख रकम छुट्याएको थियो ।

Comment


Related News