मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनबारे गम्भीर विवाद उत्पन्न भइरहेको बेला कांग्रेसको पहिलो विशेष महाधिवेशन तथा त्यो विशेष महाधिवेशन पश्चात् एक ढिक्का भएको कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेको तथ्यबारे थोरै चर्चा गर्न मन लाग्यो ।
महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा समूहले घोषणा गरेको विशेष महाधिवेशनको कारण फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टी कमजोर हुने तथा पार्टी टुक्रिन समेत सक्ने संस्थापन पक्षको आशंकालाई दृष्टिगत गर्दा कांग्रेसको पहिलो विशेष महाधिवेशन बारे बुझ्नु आवश्यक छ । नेपाली कांग्रेसको पहिलो महाधिवेशन कोलकाताको भवानीपुरमा वि.सं २००३ माघ १२ र १३ गते भएको थियो ।
पहिलो महाधिवेशनबाट टङ्कप्रसाद आचार्य सभापति र बि.पी. कोइराला कार्यवाहक सभापति चयन भएका थिए । कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा विसं २००४ माघ २० र २१ गते भएको थियो । बि.पी. कोइराला सभापति निर्वाचित भएका थिए । तेस्रो महाधिवेशन भारतकै दरभङ्गामा विसं २००५ फागुन १८ देखि २० गते भएको थियो र मातृकाप्रसाद कोइराला सभापति भएका थिए ।
भारतकै कोलकातामा विसं २००६ चैत २६ र २७ गते सम्पन्न चौथो महाधिवेशनबाट मातृकाप्रसाद कोइराला पुनः सभापति बनेका थिए । कांग्रेसको पाँचौं महाधिवेशन २००९ साल जेठ १० देखि १३ गतेसम्म जनकपुरधाममा सम्पन्न भएको थियो र बि.पी कोइराला पुनः सभापतिमा निर्वाचित भएका थिए । तर वीरगञ्जमा विसं २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैठौं महाधिवेशन बि.पी. कोइराला नेतृत्वमा आउन चाहनु भएन । सभापतिमा सुवर्ण शमशेर राणा र गणेशमान सिंहबीच प्रतिस्पर्धा भएको थियो ।
सुवर्ण शमशेर सभापति निर्वाचित भएका थिए । यस महाधिवेशनले पारित गरेको ‘प्रजातान्त्रिक समाजवाद’ आज पनि नेपाली कांग्रेसको नीति हो । वीरगञ्ज महाधिवेशनले कांग्रेसमा विशेष महाधिवेशनको पटकथा लेखिएको थियो । नेपाली कांग्रेसको दबाबमा राजा महेन्द्र शाहले आमनिर्वाचनको घोषणा त गरेका थिए । तर घोषित मिति सार्ने, नयाँ मन्त्रिमण्डल बनाउने लगायतका नाममा तिकडमबाजी गरिरहेका थिए ।
राजालाई चुनावका लागि दबाब दिन सुवर्ण शमशेरलाई सशक्त काँग्रेस र सशक्त नेता चाहिएको थियो । उनी बि.पी. कोइरालाको नेतृत्वमा आम निर्वाचनमा जान चाहेका थिए । यसका लागि उनले सप्तरीको राजविराजमा ८ चैत २०१३ देखि नेपाली कांग्रेसका जिल्ला सभापति र सचिवहरूको दुई दिने सम्मेलन डाक्नु भयो । अनि त्यही सम्मेलनबाट विराटनगरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गराउनु भयो ।
जिल्ला सभापति र सचिवहरूको सम्मेलनले पारित गरेको प्रस्तावमा अनुसार १० जेठ २०१४ मा कांग्रेसको विशेष अधिवेशन विराटनगरमा सम्पन्न भयो र उद्घाटन मन्तव्यमै सभापति सुवर्ण शमशेरले बी.पी. कोइरालालाई पार्टीको नेतृत्व लिन अनुरोध गर्नु भयो । उहाँले भन्नु भएको थियो– ‘ निर्धारित समयमा चुनाव गराउन सरकारलाई बाध्य गराउने र चुनावमा विजय हासिल गनसक्षम र गतिशील नेतृत्वको आवश्यकता छ । त्यसैकारण सभापति पदबाट मैले आफूले राजीनामा गर्ने निर्णय गरिसकेको छु र त्यो पद अब फेरि साथी विश्वेश्वर प्रसाद कोइरालाजीले सम्हाल्नुपर्छ भन्ने मेरो अनुरोध छ ।’ दुई दिनसम्म चलेको विशेष महाधिवेशनबाट बी.पी. कोइरालालाई सर्वसम्मत सभापति चयन भए । सभापति सुवर्ण शमशेर कोषाध्यक्ष भए अनि विश्वबन्धु थापा र तुलसी गिरी महामन्त्री चयन भए ।
राजा महेन्द्र शाहको आह्वानमा ७ फागुन २०१५ बाट शुरू भएको आम निर्वाचन विभिन्न चरणमा गरी २८ वैशाख २०१६ मा अन्तिम परिणाम घोषणा भएको थियो । बी.पी कोइरालाको सबल नेतृत्वमा सम्पन्न पहिलो संसदीय चुनावमा कांग्रेसले १०९ सिट मध्ये दुईतिहाइ बहुमत अर्थात् ७४ सिट मा विजय प्राप्त गरेको थियो ।
कम्युनिस्ट पार्टीले चार सीट, नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सिट, संयुक्त प्रजातन्त्र पार्टीले पाँच सिट जितेको थियो भने नेपाल प्रजा परिषद् (कोदालो) ले दुई र नेपाल प्रजापरिषद् (हलो) ले एक सिट जितेका थिए । स्वतन्त्र उम्मेदवारले चार सिटमा जितेका थिए । आठ दशक पुरानो मुलुकको सबभन्दा जेठा पार्टी नेपाली कांग्रेसमा ६८ वर्षपछि पुनः विशेष महाधिवेशनको चर्चा चरममा छ ।
त्यतिबेला राजा महेन्द्रको चालवाजीलाई चिर्दै आम निर्वाचनमा पार्टीलाई जीत दिलाउने लक्ष्य तत्कालीन सभापति सुवर्ण शमशेर राणाको थियो र उनले यसका लागि विशेष महाधिवेशनमार्फत नेतृत्वमात्र त्यागेनन् केन्द्रिय समितिमा कोषाध्यक्षको रुपमा काम गर्न तयार भए । संविधान जारी भए यता दुई पटक र समग्रमा पाँच पटक प्रधानमन्त्री भइसकेका आजका कांग्रेस सभापति शेरबहादुर देउवा र उनी पक्षका नेताजीहरु विशेष महाधिवेशन टार्न भए भरका वल लगाउँदै छन् ।
विशेष महाधिवेशनले पार्टीलाई सबल बनाउँछ कि कमजोर ? यसबारे अहिल्यै नै भन्न सकिने अवस्था छैन । तर जेन–जी आन्दोलन पश्चात् वालुवाको महल जस्तै दुई तिहाइको सरकार ढलेको दृश्य हेर्ने कांग्रेस सभापति देउवासंग सुवर्ण शमशेर बन्ने सुन्दर विकल्प थियो ।


