शहीद पत्रकार उमा सिंहको १७ औँ स्मृति दिवस जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले स्वास्थ्य परीक्षण र श्रद्धाञ्जली सभा गरी स्मृति दिवस मनाएको हो । पत्रकारहरूको स्वास्थ्य र सम्मानलाई प्राथमिकतामा राख्दै शाखाले निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम तथा श्रद्धाञ्जली सभा नेपाल पत्रकार महासंघ धनुषाले आयोजना गरेको थियो । आइतवार बिहान महासङ्घ धनुषा शाखाको कार्यालय भवनमा आयोजित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा धनुषा जिल्लाका करीब ५० जना पत्रकारहरूले निशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।
जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको हाइटेक प्याथोलोजी ल्याबको सहकार्यमा सम्पन्न कार्यक्रममा सहभागी पत्रकारहरूको रक्तचाप, मधुमेह, लिपिड प्रोफाइल तथा युरिन परीक्षण निशुल्क गरिएको थियो । महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन साहले श्रमजीवी पत्रकारहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
जाडो मौसम र व्यस्त कार्यतालिकाबीच पनि पत्रकारहरूले स्वास्थ्यप्रति चासो दिनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे । त्यसैगरी, बेलुकी महासङ्घ भवन अगाडि शहिद पत्रकार उमा सिंहको स्मरणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार, क्रियाशील पत्रकार, महासङ्घका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभामा सहभागीहरूले उमा सिंहले पत्रकारिताको क्षेत्रमा दिएको योगदान र सत्यका लागि ज्यानसमेत आहुति दिएको साहसिक यात्राको स्मरण गर्दै उनीप्रति श्रद्धा अर्पण गरेका थिए । वक्ताहरूले शहिद पत्रकार उमा सिंह पत्रकारितामा निडरता, सत्य र सामाजिक न्यायका प्रतीकका रूपमा सदैव स्मरणीय रहने उल्लेख गरे ।



