बारामा प्रहरीले लागू औषध ओसारपसारविरुद्धको कारबाहीका क्रममा योद्धा पिकअप गाडीबाट २०३ केजीभन्दा बढी गाँजा बरामद गर्दै चालकलाई पक्राउ गरेको छ।
जितपुर सिमरा उपमहानगरपालिका–१८ बडर्वास्थित पिलुवा–कलैया भित्री सडक खण्डमा मनहरीबाट कलैयातर्फ जाँदै गरेको BAC 2343घ नम्बरको नेपाली योद्धा पिकअपलाई मंगलबार बिहान करिब ९:३० बजे शंकाका आधारमा रोकी चेकजाँच गरिएको थियो। जाँचका क्रममा गाडीको पछिल्लो भागमा फल्स बटम बनाई लुकाइछिपाइ ल्याइएको २० पोका लागू औषध गाँजा ९२०३ केजी ८५० ग्राम० फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी जैतापुरबाट असई निलप्रसाद मैनालीको नेतृत्वमा खटिएको टोली र अस्थायी ट्राफिक प्रहरी पोष्ट पिलुवाबाट प्रहरी हवल्दार अनवर हुसेनको संयुक्त चेकिङ टोलीले उक्त गाँजा बरामद गरेको हो।
गाडी चालक मकवानपुर मनहरी गाउँपालिका–६ निवासी २४ वर्षीय निशान बहादुर सुनचुरीलाई गाँजासहित नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी चौकी जैतापुर बारा लगिएको थियो। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय सिमरा बाराबाट इन्स्पेक्टर दिवाकर गणेशको कमाण्डमा मुचुल्कासहितको टोली खटिएको प्रहरीले जनाएको छ।



