२०८२ माघ २, शुक्रबार १४:३७

सिन्धुलीको घ्याङलेखस्थित एसबिआई बैंक लुटपाटमा संलग्न सातैजना पक्राउ परेका छन् । पुस २९ गते भएको तीन करोड लुटपाटमा घरधनीसहितका व्यक्ति संलग्न रहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।

प्रहरीले २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँसहित लुटपाट गर्ने सबैलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक उग्रतारा जनगाल गाविस– २ घर भई हाल बनेपा नगरपालिका– १० बस्ने ४२ वर्षीय भागवतसिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका– २ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन, भरतपुर महानगरपालिका– २ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट, पञ्चकन्या गाउँपालिका– ५ का २३ वर्षीय मिलन गिरी, त्यहीँका १९ वर्षीय विवेक मगर, सिन्धुली, घ्याङलेख– २ का ४४ वर्षीय छविलाल स्याङ्तान र परिवर्तित ३१ जिल्ला बस्ने १६ वर्षीय परिवर्तित नाम ०८२–०८३ सिन्धुली छन् ।

उनीहरुले पुस २९ गते अन्दाजी राति साढे ७ बजेको समयमा घ्याङलेख– २ हायुटार स्थित एसबिआई बैंकको शाखा कार्यालयमा लुटपाट गरेका थिए । घटनामा ५६ जनाको समूह संलग्न रहेको प्रहरीले जनाएको छ । गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीहरुलाई नियन्त्रणमा लिई उनीहरुले खुकुरी प्रहार गरेका थिए । गार्ड कार्कीलाई सामान्य घाइते बनाएपछि मुखमा पट्टी बाँधेर लुटपाट गरेका थिए ।

घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा टाटा सुमो र चालक भागवतसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । काभ्रेबाट विवाहमा जानका लागि ६ जनाले गाडी बुक गरेका थिए । २९ गते राती जंगलमा बोरामा लुकाएर राखिएको अवस्थामा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ फेला परेको थियो ।

३० गते बिहान घ्याङलेख– १ सुकाचुरीबाट ४ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो । खानतलासी गर्दा उनीहरुको साथबाट ५ लाख ९ हजार छ सय ७५ रुपैयाँ फेला परेको थियो । उनीहरुले घटनामा संलग्न भएको स्वीकारेका थिए । उनीहरुले लुकाएर राखेको ८३ लाख ३५ हजार रुपैंया र घटनामा प्रयोग भएको नकाब, पञ्जा, नक्कली प्लाष्टिकको पेस्तोल थानसहितका सामान प्रहरीले बरामद गरेको छ ।

घटनामा संलग्न चतुरमान बज्यु र उक्त बैंक रहेको घरधनी छविलाल स्याङ्तानको मुख्य संलग्नता छ । बज्यु स्याङ्ताङका जेठान हुन् । उनले बज्युलाई घ्याङलेखकै जंगलमा लुकाएका थिए । उनीहरुले असोजबाट नै बैंक लुट्ने योजना बनाएका थिए । पुस २३ गते बैंक लुट्न भनी काठमाडौंबाट २ वटा मोटरसाइकल भाडामा लिएका थिए । त्यसमध्येका ४ जना आएको र त्यसदिन परिस्थिति अनुकूल नभएकाले उक्त बैंक लुट्ने योजना बिफल भएको थियो ।

पुस २८ गते बैंक लुट्ने योजनासहित काठमाडौंबाट जानुपर्ने टोली कोटेश्वरमा जम्मा भएका थिए । तर, एकजनाको जन्मदिन परेकाले भोलिपल्ट, अर्थात् २९ गते कोटेश्वरमा जम्मा भई पब्लिक सवारी साधनमा बनेपा पुगेका थिए । त्यहाँबाट उनीहरुले टाटा सुमो भाडामा लिएका हुन् ।

बैंक लुटपाट गर्न घरधनी छविलाल स्याङ्तानले आवश्यक हातहतियारको व्यवस्थापन तथा सूचना दिएका थिए ।

२९ गते साँझको समयमा पक्राउ परेका व्यक्तिले बैंकभित्र छिरेर सुरक्षा गार्ड र बैंकका कर्मचारीहरुलाई नियन्त्रणमा लिएका हुन् । त्यसक्रममा प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खुलाएका थिए । पैसा बोरा तथा झोला हालेर उनीहरु भागेका थिए । त्यसदिन बैंकले बाट ३ करोड ७ लाख रुपैयाँ लगेको भनी प्रहरीलाई जानकारी गराएको थियो।

Comment


Related News

Latest News

Trending News