सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ हरकठवामा ट्र्याक्टरको ठक्करबाट १० वर्षीया बालिकाको दुःखद मृत्यु भएको छ।
हरकठवाबाट सिसौटतर्फ जाँदै गरेको ना ४ त ७०३१ नम्बरको ट्र्याक्टरले शुक्रबार साँझ करिब ६ः३० बजे पैदल हिँडिरहेकी स्थानीय उमेश महतोकी छोरी गौरी कुमारी महतोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको टाउको र कम्मरमा गहिरो चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको भए पनि चिकित्सकले राति करिब ९ बजे मृत घोषणा गरेका थिए। बालिकाको शव हाल सोही अस्पतालमा राखिएको छ।
दुर्घटनापछि प्रहरीले ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ भने चालक बैरिया टोल निवासी अन्दाजी ३३ वर्षीय रामबिन सहनीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हरकठवाबाट सई पदमबहादुर खड्काको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



