रास्वपा सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धिकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति सुदृढीकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णयप्रति गम्भीर आपत्ति जनाउदै युवा संघले शनिबार काठमाडौैंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
गैरकानूनी, अनैतिक र दण्डहिनतालाई प्रश्रय दिने काम स्वीकार्य नहुने भन्दै प्रदर्शन गरिएको युवा संघले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले दलालको राज भो, देशलाई अति लाज भो, न्यायाधीशको राजमा, कानून जल्यो साँझमा, गलत निर्णय फिर्ता ले लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले संगठित अपराध तथा सम्पति शुद्धिकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिने कदम दण्डहिनताको पराकाष्ठा भएकोले विरोध गरिएको बताउनुभयो । त्यस्तै अन्य ठूला प्रकरणमा पनि सरकारको ध्यान जान नसकेको र सेटिङमा चल्न थालेको उहाले आरोप लगाउनुभयो ।
उहाले नागरिक सरकारले पनि जनताले ठग्ने काम गरेको भन्दै गलत काम नरोकिने देशैभर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।


