२०८२ माघ ४, आईतवार ०८:२७

मधेश प्रदेश नामकरण भएको पांचौ वर्षमा पहिलोपटक औपचारिक रूपमा नामकरण दिवस मनाएको छ । प्रदेश सभामुख रामआशिष यादवको अध्यक्षता तथा पूर्व सभामुख सरोज यादवको प्रमुख आतिथ्यमा प्रदेश सभा परिसरमा वृक्षारोपण कार्यक्रम गरी नामकरण दिवस मनाइएको हो ।

प्रदेश सरकारका मन्त्रीहरू तथा प्रदेश सांसदहरूको उपस्थिति भएको सो कार्यक्रममा एक दर्जनभन्दा बढी आँपका बिरुवा रोपिएको छ । वातावरण संरक्षणसँगै प्रदेश नामकरणको ऐतिहासिक निर्णयलाई स्मरण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको जनाइएको सभामुख यादवले बताए ।

मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेशको नामकरण तथा प्रादेशिक राजधानीका रूपमा जनकपुरधाम कायम भएको दिनको अवसरमा सम्पूर्ण प्रदेशवासीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सभामुख यादवले नागरिक हक, अधिकार, पहिचान, सामाजिक न्याय तथा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न जनआन्दोलन, मधेश आन्दोलन, जनविद्रोह र जनयुद्धमा आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् ।

शहीदहरूको त्याग, संघर्ष र बलिदानकै कारण मधेश प्रदेशको पहिचान संस्थागत हुन सकेको उल्लेख गर्दै शहीदहरूले देखाएको सामाजिक न्याय, समानता, स्वाभिमान र समावेशितामा आधारित मार्गलाई आत्मसात गर्नु आजको साझा दायित्व भएको उनले बताए । मधेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै आपसी सद्भाव, सहकार्य र एकतामार्फत दिगो विकास र समृद्धिका लागि सबै प्रदेशवासी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड पनि दिएका छन् ।

मधेश प्रदेशको नामकरण २०७८ साल माघ ३ गते प्रदेश सभाबाट औपचारिक रूपमा घोषणा गरिएको थियो । सो कार्यक्रममा अर्थमन्त्री महेश यादव, श्रम तथा यातायात मन्त्री मनिष सुमन, प्रदेश सांसद कुमरकान्त झा, ममता देवी मण्डल लगायत विभिन्न दलका प्रदेश सांसदहरूको सहभागिता रहेको थियो ।

तत्कालीन सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

अरु दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए । जसमा मधेश प्रदेश नाम प्रस्ताव बहुमतले पारित भएको थियो । प्रदेशको नामकरणसँगै प्रदेश सभाबाट स्थायी राजधानी जनकपुरधाममा टुंगो लगाएको थियो ।

राजधानीका लागि पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरधामको पक्षमा मत दिएका थिए । स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीन वटा बनाएको थियो, जसमध्ये जनकपुरधाममा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।

Comment


Related News

Latest News

Trending News