जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संघीयता विरोधी राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्दै मधेशले नपत्याउने टिप्पणी गरेका छन् । लहानमा मधेश आन्दोलनका सहिदप्रति मार्याल्पण गर्दै राउतले यस्तो टिप्पणी गरेका हुन् ।
मधेशी जनताको बलिदानीको बलमा आएको संघीयता समाप्त पार्नकै लागि आफूलाई कहिल्यै मधेशी नभन्ने बालेन्द्र शाहलाई मधेशपुत्रका रूपमा अघि सारेर रास्वपाले यहाँको भोट बटुल्ने नीति अख्तियार गरेको राउतको आरोप छ । ’प्रदेशसभा जलाउने, प्रदेश र संघीयता चाहिन्न भन्नेहरूलाई मधेशले प्रतिकार गर्छ, मधेशी जनता त्यस्तालाई पत्याउनेवाला छैन,’ राउतले भने, ’राष्ट्रिय राजनीतिमा मधेशकै भोट निर्णायक हो, मधेशको भोट बटुलेर ठूलो शक्ति बन्ने र संघीयता समाप्त पार्ने उनीहरूको षड्यन्त्र छ ।’ मधेशलाई मधेशको आत्मसम्मान, स्वाभिमान, अधिकार र संघीयताका लागि लड्ने नेता नै आवश्यक रहेको भन्दै त्यस्ता व्यक्तिहरूको कुनै षड्यन्त्र सफल हुन नदिने राउतले बताए ।



