आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट संसदीय निर्वाचन क्षेत्र नं. २ मा पूर्व सांसद किरण कुमार साहले नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० बाट मनोनयन दर्ता गराएका छन्।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा सक्रिय देखिएका साहले घण्टी चुनाव चिन्हको टिकट नपाएपछि नेकपाबाट उम्मेदवारी दिएका हुन्। मंगलबार आयोजित कार्यक्रममा पार्टीका सह–संयोजक तथा रौतहट क्षेत्र नं। १ का उम्मेदवार, पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले साहलाई पार्टी प्रवेश गराउँदै औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका थिए।
किरण कुमार साह रौतहट–२ बाट निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य हुन्। उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रभु साहको टीमबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै नेपाली कांग्रेसका उम्मेदवार फिरदोस आलमलाई करिब ४ हजार ५ सय मतान्तरले पराजित गर्दै उल्लेखनीय जित हासिल गरेका थिए। स्वतन्त्र उम्मेदवार भएर स्थापित दलका उम्मेदवारलाई हराउनु रौतहट–२ को राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको थियो। निर्वाचित भएपछि उनी नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश गरेका थिए।
राजनीतिक यात्राको क्रममा साहले विभिन्न दलसँग सहकार्य गर्दै आएका छन्। संसदमा संस्कृत भाषामा शपथ लिएर उनले राष्ट्रिय स्तरमा पनि चर्चा बटुलेका थिए।
रौतहट–२ मा पुनः उम्मेदवार बनेका साहले आफू जनताको पक्षमा निर्भीक रूपमा आवाज उठाउने प्रतिबद्धताका कारण जनसमर्थन पाउँदै आएको दाबी गरेका छन्। नेकपाबाट उम्मेदवारी दिएसँगै रौतहट–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको स्थानीय राजनीतिक वृत्तले बताएको छ।



