भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ ।
मङ्गलवार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिए । उनको अनुसार भारतले आसन्न निर्वाचनलाई मध्यनजर गरी विभिन्न प्रकारका ५३८ वटा गाडी सहयोग गर्दै छ भने आज पहिलो चरणमा ६१ वटा गाडी हस्तान्तरण गरेको हो ।
उनले भने ,‘भारत सरकारबाट प्राप्त हुने गाडीहरूको आज पहिलो चरणको हस्तान्तरण भएको छ । आज ६१ वटा गाडी हस्तान्तरण भएको छ । विभिन्न प्रकारका ५३८ वटा गाडी भारत सरकारले निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा निकायलाई प्राप्त हुँदैछ ।’
त्यस्तै उनले सरकारले आफ्नो नियमित बजेटबाट पनि गाडी खरिदको काम अन्तिम चरणमा पुर्याएको बताए । निर्वाचन आयोग, सुरक्षा निकाय र जिल्ला प्रशासनहरूमा आवश्यकता अनुसार वितरण गरिने उनले जानकारी दिए ।
‘जेनजी आन्दोलनपछि सुरक्षा निकायमा सवारी साधनको कमी थियो । सरकारले आफ्नो नियमित बजेटबाट पनि खरिदको अन्तिम चरणमा पुगेको छ भने निर्वाचन आयोग, सुरक्षा निकाय, जिल्ला प्रशासनहरूमा आवश्यकताको अनुसार वितरण गर्ने छौँ’ उनले भने, ‘गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।’



