आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आज बेलुका ५ बजेसम्म देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र २ हजार ६ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको काम चलिरहेको छ ।
५ बजेसम्ममा मनोनयन दर्ता गराउने कार्यालयको परिसरमा पुगिसकेकाहरूले रातिसम्म पनि मनोनयन दर्ता गराउन पाउने भएकोले यो सङ्ख्या बढ्नसक्ने प्रवक्ता भट्टराईले बताउनुभयो । उहाँकाअनुसार मनोनयन दर्ता गराउने महिलाको सङ्ख्या ३ सय ३ जना मात्र रहेको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली आजै बेलुका ८ बजेभित्र प्रकाशन हुनेसमेत उहाँले जानकारी दिनुभयो ।
भोलि कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूची रहेको छ । प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।



