पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपालको रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाटको प्रतिनिधिसभा उम्मेदवारीलाई लिएर उजुरी परेको छ। सोही क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौर, रौतहटमा उजुरी दिएका हुन्।
यादवले दायर गरेको उजुरीमा पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा माधव नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको उल्लेख गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठमा सो प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि माधव नेपालको प्रतिनिधिसभा सदस्य पद निलम्बन भएको दाबीसमेत उजुरीमा गरिएको छ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ को हवाला दिँदै भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा परेका व्यक्ति निर्वाचन लड्न अयोग्य हुने कानुनी व्यवस्था रहेको भन्दै नेपालको उम्मेदवारी खारेज गर्न माग गरेका छन्।
यद्यपि, जिल्ला निर्वाचन प्रमुख अधिकृत तथा न्यायाधीश मनोज केसीले माधव नेपालविरुद्ध परेको उजुरी दर्ता नभई दरपीट गरिएको जानकारी दिएका छन्। केसीले जनकपुर टुडेसँग कुरा गर्दै अदालतमा विचाराधीन मुद्दाको अन्तिम फैसला नआएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने भएकाले नेपालको उम्मेदवारी यथावत रहने स्पष्ट पारे।
माधव कुमार नेपाल २०७९ सालको निर्वाचनमा रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उनले पुनः यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।



