प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिकतर्फ उम्मेदवार रहेका मध्ये ३ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर मण्डलविरुद्ध उजुरी परेको छ । मण्डल आदिवासीतर्फको व्यक्ति भएकोले मधेशी क्लस्टरमा राख्न नमिल्ने भनेर उजुरी परेको हो । उनीविरुद्ध महोत्तरीको पिपरा गाउँपालिका सन्तोष कुमार साहले उजुरी दिएका हुन् । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ । उनलाई अपांगता भएको व्यक्ति अन्तर्गत राखिएको तर, उनी अपांगता भएको व्यक्ति नभएको दाबी उजुरीमा छ । उनीविरुद्ध काभ्रेपलाञ्चलक तेमाल २ का रहरसिंह तामांगले उजुरी दिएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबट समानुपातिक उम्मेदवार कुमार बहादुर थापाविरुद्ध उजुरी परेको छ । उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रुपमा बेचखिन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर बिचाराधीन रहेको भनेर उजुरी परेको हो । उनीविरुद्ध धनकुटा पाख्रीबास ५ का पवित्रा श्रेष्ठले उजुरी दिएकी छिन् । प्रतिवादीहरुलाई माघ १३ गते बिहान १० बजेदेखि दिउंसो ४ बजेसम्म निर्वाचन आयोगको कार्यालय अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचित गरेको छ ।
आयोगले बोलाएको समयमा उपस्थित नभए कानूनले व्यवस्था गरेबामेजिम हुने आयोगले जारी गरेको सूचनामा भनिएको छ । प्राप्त उजुरीउपर निर्वाचन आयोग अध्ययनमा छ । राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसमा नाम फिर्ता लगायतको कार्य सकेर अन्तिम नामावली प्रकाशित भएको छ । प्रकाशित नाम उपर आएका उजुरी एकीकृत गरेर आयोगले अध्ययन सुरु गरेको हो । यही माघ २० गते समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।



