वीरगञ्ज स्थित बीपी उद्यान छेउको जग्गामा वीरगञ्ज महानगरपालिकाले ‘रेल्वे म्युजियम’ निर्माणको कार्य अघि बढाएका छ्न ।
महानगरको गत असार ९ गते सम्पन्न १३ औँ नगरसभामा नगरप्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा ‘रेलवे म्युजियम’ निर्माणको घोषणा गरेका थिए ।
सोही घोषणा अनुसार प्रारम्भिक चरणको कार्य अघि बढाइएको छ । वीरगञ्जबाटै नेपालमा पहिलोपटक रक्सौल– अमलेखगञ्ज रेल सेवा सुरु भएको भन्दै रेल सेवा स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचना, सामग्री तथा ऐतिहासिक सम्पदालाई संरक्षण र पुनःप्रयोग गरी ‘रेल्वे म्युजियम’ निर्माण गरिने बताएका थिए ।
यसै क्रममा आइतवार उक्त क्षेत्रमा रहेका रेल्वेका पुराना संरचना, झाडी, अनावश्यक रुख तथा फोहर हटाउँदै सरसफाइ अभियान सञ्चालन गरिएको छ । उक्त अवसरमा मेयर सिंहले ‘रेलवे म्युजियम’ वीरगञ्जको पहिचानसँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताए । नेपालमा रेल सेवाको सुरुवात वीरगञ्जबाट भएको ऐतिहासिक तथ्यलाई भावी पुस्तासम्म पु¥याउन रेल्वे म्युजियम आवश्यक रहेको बताए ।
लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गालाई सफा र व्यवस्थित बनाउँदै निर्माणका लागि उपयुक्त वातावरण तयार पार्ने उद्देश्यले सरसफाइ गरिएको महानगरपालिकाले जानकारी दिएका छन् ।



