अपडेट 
२०७७ बैशाख १९, शुक्रबार १६:१२

काठमाडौं । सरकारले दोस्रो मुलुकबाट चिनी आयात प्रक्रिया अगाडि बढाएको छ । सरकारी भण्डारणमा रहेको मौज्दात सकिँदै गए पछि चिनी खरिद प्रक्रिया थालिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बजारको माग र मूल्य सन्तुलनका लागि तत्काल ५० हजार मेट्रिकटन चिनी आयात गर्नुपर्ने देखिएको हो । चिनी खरिद प्रक्रिया सहमतिका लागि अर्थ मन्त्रालयसँग छलफल थालिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले अनलाइनखबरलाई बताइन् ।

मूल्य बढ्न नदिन ५० हजार मेट्रिकटन चिनी आवश्यक रहेको र यसकालागि अर्थसँग छलफल थालिएको छ,’ केसीले भनिन् ।

सरकारी स्वमित्वको साल्ट्रेडिङ कम्पनी लिमिटेडसँग लकडाउनको पाँचौ हप्तासम्म आईपुग्दा जम्मा चार हजार ९९ मेट्रिकटन मात्रै चिनीका मौज्दात बाँकी छ । देशभरका १२ वटा चिनी मिलमा ६३ हजार २ सय ७ मेट्रिकटन चिनी बाँकी रहेको सरकारी अनुमान छ ।

नेपालमा वाषिर्क चिनीको माग २ लाख ३० हजार मेट्रिकटन रहेको चिनी उत्पादकहरुको दाबी छ । जसमध्ये १ लाख २० हजार मेटि्रकटन हाराहारी चिनी स्वदेशमै उत्पादन हुन्छ ।

सरकारी स्वमित्वको साल्ट ट्रेडिङले प्रतिकिलो ७३ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । स्वदेशमा उत्पादित चिनीको फ्याक्ट्री मूल्य प्रतिकिलो ६५ रुपैयाँ हो । उक्त मूल्यमा भ्याट र ढुवानी भाडा जोडिँदा मूल्य प्रतिकिलो ७५ रुपैयाँ हाराहारी पुग्न जाने संघका अध्यक्ष शशीकान्त अग्रवाल बताउँछन् ।

सार्वजनिक खरीद प्रक्रियाबाट चिनी आयात थाल्दा कम्तीमा पनि ४५ दिन लाग्ने भएकाले मन्त्रालयले छिटोबाट चिनी आयात गर्ने विकल्पमा छलफल गरिरहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News