नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी रहेको बताउनुभएको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाडामा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल (एकता पक्षधर समुह)लाई नेकपामा समाहित गराउदै प्रचण्डले सामाजिक सञ्जालमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै त्यसलाई सबै एकताबद्ध भएर मात्रै रोक्न सकिने बताउनुभएको हो ।
सिद्धान्त र बिचारको खडेरी भएकाहरुले सामाजिक सञ्जालमा स्टन्टबाज गर्ने काम गरेको उहाको भनाइ छ । त्यस्तै प्रचण्डले भाद्र २३ र २४ को घटनापछि मुलुक गम्भीर संकटमा परेकाले सवै बामपन्थीहरुलाई एकैठाँउमा ल्याउने प्रयास गरिएको उल्लेख गर्नुभयो ।
कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउदै जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प नरहेको उहाको भनाइ छ । प्रचण्डले पहिलाका माओवादी घटकहरु ढिलोचाडो एकै ठाउमा आउने दावी गर्र्दै मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल हुन आह्वान समेत गर्नुभयो ।
त्यस्तै मंगलबार नै चुरे भावर पार्टीलाई नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गराइएको छ ।



