धनुषा क्षेत्र नं ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार जुली कुमारी महतोले लोकतन्त्रको संरक्षण र देश विकासका लागि नेकपा एमाले एकमात्र विकल्प रहेको बताएकी छन् ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनुषा क्षेत्र नं ३ अन्तर्गत मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं २ मा आयोजित घरदैलो कार्यक्रममा सम्बोधन गर्दै नेतृ महतोले नेकपा एमालेप्रति फैलाइएका भ्रमलाई चिर्दै क्षेत्रको समग्र विकासका लागि आफूलाई मतदान गर्न आग्रह गरिन् ।
उनले यसअघि यही क्षेत्रबाट निर्वाचित भइसकेको स्मरण गर्दै कार्यकाल पूरा हुनुअघि नै संसद् विघटन भएकाले जनतासँग गरेको धेरै प्रतिबद्धता पूरा गर्न नपाएको बताइन् । क्षेत्रका लागि बजेट विनियोजन गरिए पनि विभिन्न आन्दोलन र राजनीतिक चलखेलका कारण ती योजनाहरू कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।
यसपटक विजयी भएपछि विगतमा छुटेका विकासका कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेतृ महतोले आफ्नो सरकारको कार्यकालमा मधेश प्रदेशमा रेल, सडक लगायत पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको जनतालाई स्मरण गराइन् ।
देश र मधेशको समुन्नत विकासका लागि नेकपा एमाले आवश्यक रहेको उनले जोड दिइन् । घरदैलो कार्यक्रममा एमाले नेतृ प्रतिक्षा तिवारी, समानुपातिक उम्मेदवार चन्देश्वर यादव, समानुपातिक उम्मेदवार मन्जु महतो लगायत अन्य नेताहरूले पनि आ–आफ्नो मन्तव्य राखेका थिए ।



