भारतको सीमावर्ती सीतामढी जिल्लाको मेजरगञ्जमा प्रहरीले गरेको ठूलो कारवाहीमा नक्कली नोटको धन्धामा संलग्न रहेका १० जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा पूर्वी चम्पारण र स्पेसल टास्कफोर्सले नक्कली नोट छाप्ने घरमा छापा मारेको थियो ।प्रहरीले २५ लाख नक्कली नेपाली नोट सहित १० जनालाई पक्राउ गरेको पूर्वी चम्पारण जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपालमा हुन लागेको निर्वाचनलाई दृष्टिगत गरी नक्कली नोटको धन्धा गर्ने गिरोहको सक्रियता बढेको थियो ।
भारत र नेपालका अपराधीहरुको संयुक्त गिरोहले नक्कली नोटको धन्धा भारी परिमाणमा गरिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । चुनावमा नक्कली नोट सहज ढंगले चलाउन नक्कली नोट छाप्ने गिरोहका सदस्यहरुले सक्रियता बढाएको थियो । उनीहरुले व्हाट्स एप मार्फत अनेक व्यक्तिलाई सम्पर्क गरी नोट चलाउदा हुने लाभ बारे जानकारी गराउंथे ।
नेपालको चुनावलाई प्रभावित पार्ने उद्देश्यले सीमापार भारतीय भूमिमा नेपाली नक्कली नोट छाप्ने र नेपालमा पैठारी कार्यमा संलग्न रहेकाहरु मध्ये १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु मध्ये ३ जना नेपाली रहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले नेपाली र भारतीय नक्कली नोट तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई भारतले नियन्त्रणमा लिएको हो ।पक्राउ परेको गिरोहले भारतीय नक्कली नोट समेत छाप्ने गरेका थिए ।
भारत बिहार राज्यको सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ) ले गरेको संयुक्त कारबाहीमा नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर नष्ट गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । छापा मार्ने क्रममा १ हजार दरका २५ लाख नेपाली नक्कली नोट, १ हजार ८ सय ५० थान पाँच सय दरका नक्कली भारतीय नोट, हाईटेक प्रिन्टिङ मेसिन, विशेष कागज, रसायन लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीनवटा मोटरसाइकल र कार पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर विस्तृत सोधपुछ भइरहेको र गिरोहका अन्य सदस्य र मुख्य योजनाकारको पहिचान खुलाउने कार्य भइरहेको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
अभियुक्तहरुको नाम भने प्रहरीले खुलाएको छैन् । उक्त गिरोहले खुला नेपाल–भारत सिमानाको फाइदा उठाउँदै निर्वाचनको समयमा नेपालमा नक्कली नोट तस्करी गर्ने र बजारमा बिक्री गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । निर्वाचनको संवेदनशील अवधिमा आर्थिक अराजकता सिर्जना गर्ने र राजनीतिक गतिविधिलाई प्रभावित पार्ने उद्देश्यले नियोजित रुपमा चलाइएको भारतीय प्रहरीले आशंका गरेको छ ।
भारतीय प्रहरीले नक्कली नोटको कारोबारलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामा गम्भीर खतरा भएकाले घटनालाई उच्च प्राथमिकता दिएको बताएका छन् । नेपाल र भारत दुवै ठाउँमा सक्रिय गिरोहको खोजी तीव्र पारिएको बुझिएको छ । घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ । दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान र समन्वय बढाइएको छ ।
नेपाली सुरक्षा निकायले पनि नक्कली नोट नियन्त्रण गर्न र सम्भावित आपराधिक क्रियाकलाप रोक्न विशेष निगरानीमा जुटेका छन् । सर्लाही, महोत्तरी र रौतहटका सीमावर्ती क्षेत्रबाट अहिले पुरुष, महिला र बालबालिकाले नेपालमा नक्कली नेपाली र भारतीय नोट तस्करी गर्न थालेकाले नेपाली सुरक्षाकर्मीलाई चेकजाँचमा कडाइ गरेर नक्कली नोटको धन्धा नियन्त्रण गर्न चुनौती थपिएको छ ।
नेपाली सुरक्षाकर्मीले तस्करीलाई दोस्रो प्राथमिकतामा राखेकाले यस गतिविधिलाई नियन्त्रण र अनुगमन गर्न ठूलो चुनौती देखिएको छ । नक्कली नोटको कारखाना बिहार राज्यको नेपालसित जोडिएको जिल्लामा सञ्चालन रहेको समाचार गत असोजमा प्रकासित गरेको थियो ।टुडेको समाचारमा नक्कली नोटको कारोबारमा संलग्न रहेका एजेन्टको नेपाली नम्बरको व्हाट्स एप नम्बर समेत सार्वजनिक गरेको थियो ।
नक्कली नोटको धन्धा चलाउनेहरुले खुल्लेआम नेपाली नम्बरहरुमा फोन सम्पर्कगरि सक्कली ४० हजार बराबर १ लाख नक्कली नोट उपलब्ध गराउने बताउने गरेका थिए ।दसैं, तिहार र छठ पर्वलाई लक्षितगरि फैलाइएको नक्कली नोटको सञ्जाल चुनावको बेला झन झाँगिएको छ । नेपाली नोट रु. ५ सय, १ हजार दरको र ५ सय दरको भारतीय नोटको कारोबारमा विशेष ध्यान दिन नेपाली अधिकारीहरुले आग्रह गरेका छन् ।


