२०८२ माघ २०, मंगलवार ०७:४९

नेकपा मधेश प्रदेश सदस्य तथा जनयुद्धकालीन जिल्ला सेक्रेटरी श्रीप्रसाद मुखिया (चन्द्रिका)को हृदयाघातका कारण निधन भएको छ। उनी यमुनामाई गाउँपालिका पूर्व अध्यक्षसमेत रहेका थिए।

सोमबार मध्यराततिर अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीरगञ्जतर्फ लगिँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको असामयिक निधनको खबर फैलिनासाथ रौतहटको राजनीतिक तथा सामाजिक वृत्त शोकमग्न बनेको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यमुनामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित मुखियाले आफ्नो कार्यकालमा स्थानीय विकास, जनअधिकार र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखेका थिए। जनयुद्धकालदेखि नै संगठन निर्माण र राजनीतिक चेतना विस्तारमा सक्रिय उनले पार्टी संरचना मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको सहकर्मीहरू बताउँछन्।

उनको निधनलाई पार्टीले एक प्रतिबद्ध, इमानदार र जनमुखी नेताको क्षति रूपमा लिएको छ। परिवार, आफन्त, शुभेच्छुक र सम्पूर्ण यमुनामाईवासी शोकमा छन्।

विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूले स्वर्गीय मुखियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

पारिवारिक स्रोतका अनुसार, उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज यमुनामाईस्थित निवासमै राखिनेछ।

Comment


Related News

Latest News

Trending News