२०८२ माघ २०, मंगलवार १७:४९

प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव गराइने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा चुनाव गराउने बताउनुभएको हो ।

कम मतदाता भएका ठाउँमा गाडीको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि चुनाव सम्पन्न गराइने भन्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा चुनाव गराउनेतर्फ सोच्न सकिने बताउनुभयो ।

अहिलेसम्म कुनै पनि कारणले चुनाव सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ फागुन २१ गतेको चुनावमा जुट्न उहाँले आग्रह गर्नुभयो । समयमै चुनाव सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

यस्तै नेकपा एमालेका नेता नवराज सिलवालले पनि हिमाली क्षेत्रमा दोस्रो चरणमा चुनाव गर्ने गरी सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल कानून समाजले प्रतिनिधिसभा चुनावको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले मौसमलगायतका कारण हिमाली क्षेत्रमा चुनाव सार्नुपर्ने बताउनुभएको हो ।

Comment


Related News

Latest News

Trending News