प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने सन्दर्भमा संशय व्यक्त गरेकी छन् ।
केही साता नबित्दै प्रधानमन्त्री कार्कीले मौसमको कारणले हिमाली जिल्लामा दोश्रो चरणमा निर्वाचन हुने बताउन थालेपछि निर्वाचन हुने नहुने संशयपूर्ण अवस्था सृजना भएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन औपचारिक मिति घोषणा गर्नु अघि तराई मधेश क्षेत्रतर्फ फागुन २१ गतेतर्फ होली पर्व अन्तर्गतको मिथिला माध्यमिकी परिक्रमा हुने धार्मिक परम्परालाई समेत बेवास्ता गरेकी थिइन् । तराई–मधेशमा होली पर्वको रौनकता हुने हुनाले निर्वाचन दोश्रो चरणमा गर्नका लागि मधेशमा जोडतोडका साथ आवाज उठेको थियो । तर सो आवाजलाई समेत बेवास्ता गर्दै प्रधानमन्त्री कार्कीले जस्तो सुकै परिस्थितिमा पनि एकै चरणमा निर्वाचन हुने भनेपछि मधेश प्रदेशमा धार्मिक परम्पराको रुपमा रहेको होली पर्वको कुरासमेत मत्थर हुन पुगेको थियो ।
मधेश प्रदेशवासीको कुरालाई बेवास्ता गरेकी कार्की सरकारले कडापूर्ण रुपमा अभिव्यक्ति दिदैँ निर्वाचन एकै चरणमा हुने दाबीसमेत गरिन् । मधेशवासीको आवाजलाई दबाउन सफल भएकी प्रधानमन्त्री कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ ।
विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।’ उनले कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने बताइन् । उनले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताइन् । उनले अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न आग्रह गरिन् । उनले समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौँ । निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’ उनले विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने प्रस्ट्याइन् । तर यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गर्नु अघि मधेशमा निर्वाचन मिति सार्न माग गर्दै कार्की सरकारलाई दबाब दिएका थिए । मधेशको आवाजलाई दबाउन सफल भएकी प्रधानमन्त्री कार्कीले भने एकाएक मौसमको नाममा हिमाली जिल्लामा दोश्रो चरणको निर्वाचन हुने भन्दै सार्ने अभिव्यक्ति दिएपछि निर्वाचन हुने वा नहुनेमा पनि संशय उत्पन्न हुन थालेको राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता रवीन्द्र मिश्रले निर्वाचन सार्नुपर्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री कार्कीले पनि निर्वाचन दुई चरणमा हुनसक्ने संशय उत्पन्न गरेकी छन् ।
यससंगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अध्यक्ष रवि लामिछानेले संसद पुनस्र्थापनाको चलखेल भइरहेको दाबी गर्दै सुनामी ल्याइदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष लामिछानेले संसद पुनस्र्थापनाको षड्यन्त्र, चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताए । पनि पुराना दलहरूप्रति आक्षेपपूर्ण अभिव्यक्ति दिदँै अहिलेको सुनामी रोक्न नसक्ने जिकिर गरे ।
उनले गिद्धले सिनो लुछेजस्तै लुछिएको देश अन्तिम सुनामीको तयारीमा रहेको बताए । उनले जनविद्रोहले उखेलेर फालेको पुरानो संसद षड् यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की भने नस्वीकार्ने बताए ।
मधेश प्रदेशलगायतका क्षेत्रमा रास्वपासहित नयाँ दलप्रतिको रुझान खासै नदेखिएको अवस्थामा निर्वाचनको सवाललाई लिएर उत्पन्न आशंकाले जेन– जी आन्दोलन झैँ निर्वाचनमा बुथहरु समेत कब्जालगायतका हिंसात्मक घटनाहरु घट्ने त होइनन् भन्ने हल्लाहरुसमेत बजारमा फैलिएको बताइन्छ । यसरी निर्वाचनसम्बन्धी प्रधानमन्त्री कार्की र उनी नजिकका दलका नेताहरुबाट आएका संशयपूर्ण अभिव्यक्तिले निर्वाचन हुने अनिश्चितता देखिएको छ ।
एक राजनीतिक विश्लेषकका अनुसार प्रधानमन्त्री कार्की र उनी निकटका शीर्षनेताले निर्वाचनसम्बन्धी दिएको अभिव्यक्तिले समयमै निर्वाचन हुनेमा संशय उत्पन्न हुनु स्वाभाविक रहेको बताए । मधेशमा पर्वको माहौल रहेको अवस्थामा पनि कार्की सरकारले जवर्जस्ती एकै चरणमा समयमै निर्वाचन सम्पन्न गर्ने दाबी गर्ने, तर अन्यत्र क्षेत्र अर्थात् हिमाली जिल्लामा दोश्रो चरणमा हुने भनेपछि विभिन्न खाले आशंका उत्पन्न भएको उनको भनाइ छ ।


