२०८२ माघ २१, बुधबार ०७:३७
आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ ।
चेन्नईमा गएराति सम्पन्न भएको खेलमा युएईले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १ सय ३ रनको साझेदारी गरे ।
आरिफले ३७ बलमा ६१ र दीपेन्द्रले ३१ बलमा ५० रन बनाए । कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख रन आउट भए । रोहितले १६, आसिफ र अर्का ओपनर कुशल भुर्तेलले समान ८ रन बनाए ।
टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । युएईका एस खानले ३८ र एच कौसिकले ३५ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल पर्सि क्यानडासँग खेल्नेछ ।


