२०८२ माघ २२, बिहीबार ०७:२४

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चार महिनादेखि ६ वटा बेवारिसे शव व्यवस्थापन हुन थन्किएर राखिएको छ ।

अस्पतालका अनुसार पोस्टमार्टमका लागि ल्याइएका ती शवको पहिचान नहुँदा व्यवस्थापनमा समस्या भएको हो । ती शव अस्पतालको शवगृहमा राखिएको छ । अस्पतालका मेडिकल रेकर्ड मेडिको लिगल शाखाका प्रमुख मनोज देवका अनुसार पोस्टमार्टम र भिसेरा परीक्षणका लागि पठाइसकिएको छ ।

उनले भने, ‘बेवारिसे व्यवस्थापन नहुँदा शव थपिए राख्ने ठाउँ समेत छैन ।’ विद्युत् आपूर्तिको गड्बडीले शव कुहिएर गनाउन थालेको उनले बताए । ‘शव व्यवस्थापनका लागि पटकपटक सम्बन्धित निकायसँग आग्रह गर्दा सुनुवाइ भएको छैन,’उनले भने । ती शब कञ्चनरुप नगरपालिकामा दुई, रुपनी गाउँपालिकामा एक, राजविराज नगरपालिका–६ मा एक, १४ मा एक र वडा नम्बर ४ मा एकवटा फेला परेका हुन् ।

प्रहरीले वेवारिसे शव पोस्टमार्टमका लागि अस्पताल ल्याए पनि व्यवस्थापन गर्ने गराउनेतर्फ ध्यान नदिएको आरोप छ । पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन निर्देशिका, ०७८ अनुसार जिल्लास्तरमा शव व्यवस्थापन समिति छ । जिल्ला प्रहरी कार्यालयका प्रमुखको अध्यक्षतामा रहेको समितिले नै त्यस्ता शवको अन्त्येष्टिका लागि स्थानीय तहको समन्वयनमा आवश्यक व्यवस्था मिलाउने उल्लेख छ ।

प्रहरीले भने स्थानीय तहमा पत्राचार गरे व्यवस्थापन बेवास्ता गरेको बताएको छ । पटकपटक आग्रह गर्दा समेत प्रहरीले ‘स्थानीय तहसँग समन्वयन भइरहेको’ भन्दै आएको अस्पताल प्रशासनले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अवधेशकुमार मिश्रले पछिल्लोपटक प्रहरीलाई आग्रह गर्दा ३–४ दिनभित्रै व्यवस्थापन गराउने प्रतिक्रिया दिएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बेवारिसे शव व्यवस्थापनका लागि स्थानीय तहलाई पत्राचार गरिसकेको र केही व्यवस्थापन पनि गरिसकेको बताए ।

Comment


Related News

Latest News

Trending News