नेपाली कांग्रेसले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएकाे छ ।
कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टीले एक्लै चुनावी प्रतिस्पर्धा गर्न लागेकाे र सबै १ सय ६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिनुभयो ।
प्रवक्ता चालिसेले पार्टी पूर्णरूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताउनुभयो । उहाँले संसद् पुनर्स्थापनालगायतका विषयमा चलेका हल्लाहरूको विषयमा पार्टीको कुनै टिप्पणी नभएको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘हामी सम्पूर्ण रूपमा चुनावी प्रणालीमा गइरहेका छाैँ । हामी चुनावमा नै विश्वास गर्छाैँ । पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ । यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अन्यन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन । चुनावअघि हाम्रो कसैसँग कुनै किसिमको गठबन्धन हुँदैन ।’
चालिसेले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचारप्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।



