आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको मितिबारे प्रधानमन्त्री सुशीला कार्कीले छिनछिनमा बोली फेर्दै आएकी छन् ।
तर यसैबीच नेकपा एमालेका अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंगको गोप्य भेटले तरंग ल्याएको छ । केही समयअघि एकै चरणमा निर्वाचन हुने भन्दै जंगिएकी प्रधानमन्त्री कार्कीले बुधबार नेपाली सेनाको एक कार्यक्रममा मौसमको नाममा हिमाली जिल्लामा गरी दुई चरणमा निर्वाचन हुने भनेकी थिइन् ।
तर एक दिन नबित्दै मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि प्रधानमन्त्री कार्कीले बिहीबार संचारकर्मीहरुसंग कुराकानी गर्दै तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा हुने भन्दै सबैलाई ढुक्क रहन आग्रह गरिन् ।
निर्वाचनका बेला सबै भूगोलमा मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गरिन् । उनले सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने प्रस्ट्याइन् । निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरी आफूहरू घर फर्किने पनि उनको भनाइ छ । केही दिन अघि पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी) द्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा पुगेका बेला प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन गरिने बताइन् ।
एकातर्फ निर्वाचन हुनेमा ढुक्क रहनका लागि मतदातालाई निश्चिन्त हुन आग्रह गरिरहँदा गुपचुप रुपमा अध्यक्ष ओली प्रधानमन्त्री कार्कीलाई भेटेका छन् । विभिन्न खाले अड्कलवाजी गर्दै निर्वाचनको क्रममा कुनै पनि किसिमको धाँधली नहुने आरोप लगाउँदै प्रधानमन्त्री कार्कीविरुद्ध अघिल्लो दिन एमालेले ‘ फायर’ खोलेको थियो ।
जेन–जी आन्दोलनपछि सत्ता छाडेर सुरक्षित आश्रयस्थलतर्फ लागेका एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले एक महिनाभित्रै केन्द्रीय कमिटीको बैठक डाके । ललितपुरको एक पार्टी प्यालेसमा सम्पन्न भएको उक्त बैठकले संसद पुनस्र्थापना हुनुपर्ने निर्णय गर्दै कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र विदेशी शक्तिको इशारामा चलेको आरोप लगाएको थियो ।
तीन दिनसम्म चलेको उक्त बैठक सम्पन्न गरेपछि अध्यक्ष ओलीले एमालेले नहुने चुनावको कुरा नगरेको दाबी गरे । एमाले चुनावभन्दा पनि संसद पुनस्र्थापनामा जोड दिदैँ आएको थियो । तर बिस्तारै मुलुक चुनावतर्फ मोडिएको छ । पुस १४ मा सबै दलहरूले निर्वाचन आयोगले दिएको समयावधिमा आफ्नो दलको तर्फबाट समानुपातिक उम्मेदवारको सूची बुझाएका थिए ।
माघ ६ मा एमालेलगायतका दलले जस्तै एमालेले पनि देशभरका १६५ निर्वाचन क्षेत्रमा आफ्ना दलका उम्मेदवार मनोनयनमा पठाएको थियो । यसअघि एमालेका नेताहरूले ‘चुनावको सुरक्षा’ को सवाल उठाउँदै आएका थिए । एमाले संसद पुनस्र्थापना बारेमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ नभएको भन्दै अदालतप्रति आक्रोश उनले पोखेका थिए ।
चुनाव परिचालन कमिटीमा संयोजक समेत रहेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले त सेनाको ब्यारेकमा मतपेटिका राखेर अदलबदल गर्न सक्ने र सरकारले आफूले चाहेको मान्छेलाई जिताउन सक्ने खेल भइरहेको आशंका समेत व्यक्त गरे ।
अकस्मात् प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीचको भेटवार्तालाई निकै अर्थपूर्ण भेट मानिएको छ । उनीहरुबीच के कुराकानी भयो भन्ने बारेमा प्रधानमन्त्रीको सचिवालय र एमाले पार्टीले पनि आधिकारिक वक्तव्य सार्वजनिक गरिएको छैन ।



