निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानून बमोजिम कारवाही हुने स्पष्ट पारेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको भन्दै दुरुपयोग भए पछि कानून बमोजिम कारवाही हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको बिषयमा आयोगले निर्देशिका नै जारी गरिसकेको बताउनुभयो ।
उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भन्दै उहाले स्वेच्छाले हुने सहयोगलाई कानूनले गैरकानूनी नमान्ने धारणा राख्नुभयो । चूनावका नाममा नियतवस आर्थिक दुरुपयोग भएको देखिए कानुन बमोजिम त्यसको पछि समाधान हुने उहाले बताउनुभयो ।
प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामाग्रीहरु जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिनुभयो । उहाले फागुन चार गतेदेखि प्रचार प्रसार सुरु हुने भन्दै मतदातालाई कुनै खालको दवाव भए–नभएको आयोगले हेर्ने बताउनुभयो । सरकारका सुरक्षा निकायहरूले सुरक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएकाले सुरक्षामा केही समस्या आउँछ भन्ने महसुस आयोगले नगरेको उहाले बताउनुभयो ।
उहाले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्याकिङ भएर मौज्दात राखिएको अवस्थामा रहेको जानकारी दिनुभयो । प्रत्यक्ष तर्फको मतपत्र छपाईको कामले गति लिइरहेको र अहिलेसम्म करिव ८४ लाख ४० हजार भन्दा बढि मतपत्र छपाइ भइसकेको उहाले बताउनुभयो ।



