हँसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवलाई मस्तिष्कघात भएको छ ।
एक्कासी अचेत भएपछि उनलाई उपचारका लागि जनकपुरधामस्थित जनकपुर न्यूरो अस्पताल तथा रिसर्च सेन्टरको सघन कक्षमा उपचारका लागि भर्ना गरिएको थियो । तर यहाँ उनको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएपछि चिकित्सहरुले उनको थप उपचारको लागि काठमाण्डु रेफर गरिएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्षसमेत रहेका मेयर यादवलाई मस्तिष्क घात भएको पुष्टि जनकपुर न्यूरोले गरेको पार्टीका प्रदेश सदस्य जीवनाथ चौधरीले जानकारी दिए ।
कांग्रेस मधेश प्रदेश समिति सदस्य चौधरीले जनाए अनुसार मेयर यादवको अवस्था चिन्ताजनक रहेको छ । २४ घण्टापछि रिपोर्ट प्राप्त हुने र त्यसपछि काठमाण्डुस्थित नर्भिक अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिने उनको भनाइ छ ।
अहिले भने उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि आइसीयू कक्षमा उपचार भइरहेको बताइन्छ । यस अघि उनी ब्लडप्रेसर र सुगरबाट पीडित थिए ।



