राष्ट्रियसभा सदस्यहरूले जेन– जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता अहिलेसम्म नहुँदा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा आशंका व्यक्त गरेका छन् ।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा सांसद जयन्तीदेवी राईले भ्रष्टाचारको अन्त्य, सुशासन कायम र सेवा प्रवाहलाई सहज बनाउनेजस्ता विषय बोल्दै नहुँदा जेन– जी आन्दोलन भएको बताइन् । उनले फरार कैदी र प्रहरीबाट लुटिएका हतियार नियन्त्रणमा नआउनुजस्ता अवस्थाले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन हुनसक्ने विषयमा गम्भीर आशंका उत्पन्न भएको बताइन् ।
सांसद रुक्मिणी कोइरालाले पनि जेन– जी युवाको माग जायज भए पनि आन्दोलनमा भएको घुसपैठका कारण विद्यालय पोसाकमा सरकारलाई खबरदारी गर्न गएका बालबालिका र सुरक्षाकर्मीको ज्यान जाने घटना भएको बताइन् । सांसद कोइरालाले आगामी फागुनमा भयरहित वाताववरणमा चुनाव हुँदैन कि भनेर जनता आत्तिएको र शान्तिपूर्ण चुनाव हुनेमा आशंका देखिएको बताइन् ।
सांसद मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यानमा पुनःस्थापनामा देखिएका समस्या समाधानका लागि प्रतिवेदन पेस गरेपनि त्यसको कार्यान्वयन नभएको बताइन् । उनले महाकाली करिडोर, मध्यपहाडी लोकमार्गलगायत रणनीतिक विकासका आयोजनाका काम सम्पन्न गर्न सरकारले ढिलाइ गरिरहेको आरोप लगाइन् ।
गरिबी अन्त्य, रोजगारी सिर्जना, सर्वसुलभ स्वास्थ्य र शिक्षालगायत आधारभूत आवश्यकता सम्बोधन गर्ने विषय दलका घोषणापत्रमा समेटिनुपर्नेमा राष्ट्रियसभा सदस्यहरुले जोड दिएका छन् ।


