रौतहटको गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यमाथि कुटपिट तथा लुटपाट सम्बन्धी घटनामा जाहेरी दर्ता नगरेको आरोप लगाइएको छ ।
पीडित पक्षले आइतबार पत्रकार सम्मेलन गरी जाहेरी दर्ता नगरेको भनी प्रहरी नेतृत्वको भूमिकामाथि प्रश्न उठाएको छ । गरुडा–६ शिवनगरमा रहेको आदर्श आयल स्टोर मा माघ १५ गते राति भएको घटनालाई लिएर पम्प सञ्चालक पक्ष असन्तुष्ट देखिएको छ । उनीहरूले प्रहरी अनुसन्धान प्रभावकारी नभएको, साथै आर्थिक प्रलोभन र राजनीतिक दबाबको आशंका समेत व्यक्त गरेका छन् ।
के थियो घटना
पम्प सञ्चालक राकेश चौधरीका अनुसार राति करिब ९ बजे एक युवक मोटरसाइकलमा आएर १ सय रुपैयाँको पेट्रोल भरेर पैसा दिन नसकेको भन्दै मोबाइल धरौटी राखी गएका थिए। केही बेरपछि ती युवक ६–७ जनाको समूहसहित फर्किएर पम्पमा रहेका सञ्चालक सहित उनको दुईजना भतिजमाथि आक्रमण गरेको आरोप छ ।
आक्रमणमा सञ्चालक राकेश चौधरीका भतिज एवं गरुडा ६ का वडा अध्यक्ष रामबाबु चौधरीका छोराहरू — २५ वर्षीय रञ्जित कुमार चौधरी र २२ वर्षीय रोहित कुमार चौधरी — घाइते भएको बताइएको छ । रञ्जितको नाकमा गम्भीर चोट लागेको र उनको काठमाडौंस्थित एभरेष्ट अस्पतालमा शल्यक्रियाको तयारी भइरहेको जनाइएको छ ।
पीडित पक्षले घटनाको दृश्य सीसीटीभीमा कैद भएको, मोबाइल भिडियो र घाइतेको स्वास्थ्य विवरण प्रमाणका रूपमा रहेको दाबी गरेका छन् । उनीहरूका अनुसार घटनाका क्रममा नगद बोकेको झोला लुट्ने प्रयास गरिएको र ६५ हजार रुपैयाँ हराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष चौधरीले नामै किटान गरेर डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिन खोज्दा प्रहरीले अस्वीकार गरेको आरोप लगाए । “हामीलाई ‘यो मुद्दा लाग्दैन, अभद्र व्यवहारको जाहेरी ल्याउनुस’ भनियो,” पछि मुद्दा दर्ता नगरिएको पीडित पक्षले भने । उनीहरूले घटना स्थल ईलाका प्रहरी कार्यालय शिवनगरबाट मात्र ३० मिटर दूरीमा भए पनि सुरक्षा प्रभावकारी नदेखिएको र त्यसपछि अनुसन्धानमा ढिलाइ हुनु चिन्ताजनक भएको बताएका छन् ।
उता डीएसपी शंकर प्रसाद आचार्यले भने आरोप अस्वीकार गर्दै अनुसन्धान जारी रहेको बताएका छन् । उनका अनुसार सीसीटीभी फुटेज अध्ययन भइरहेको छ र घटनामा लुटपाट वा ज्यान मार्ने स्पष्ट उद्देश्य देखिएको छैन । “घाइतेलाई घाउ जाँचका लागि पठाइएको छ । जाहेरी नै नआएको अवस्थामा मुद्दा दर्ता भएको छैन,” उनले भनेका छन्।
आफूमाथि लागेको आर्थिक प्रलोभनसम्बन्धी आरोपबारे उनले प्रमाणसहित कुरा आउनुपर्ने प्रतिक्रिया दिएका छन् । घटनापछि स्थानीयवासीमा सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि देखिएको छ । पीडित पक्षले प्रहरी र प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि ठोस प्रगति नभएको गुनासो गरेका छन् ।



