२०८२ माघ २६, सोमबार ०८:१२

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ आइतवारदेखि सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा २९ गत्ते सम्म चल्ने प्रदर्शनीको प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उद्घाटन गरेका छन् ।

प्रदर्शनीको मुल आयोजक नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष रहेको छ भने जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा प्रतिष्ठान र राजर्षि जनक विश्वविद्यालयको सहकार्य रहेको छ । प्रदर्शनीको कला प्रवर्धकको रुपमा नेपाल टुरिज्म बोर्ड रहेको छ । पाँच दिन सम्म चल्ने प्रदर्शनीमा मैथिली भाषा, साहित्य, परम्परा, कला संग सम्बन्धीत विभिन्न हस्तकला तथा चित्रहरुको प्रदर्शनी गरिएको छ ।

साथै मधेश प्रदेशमा बसोबास गर्ने अन्य भाषा भाषीहरुको रहन सहन, संस्कृति, जीवनशैली झल्काउने कलाकृतिहरुको प्रदर्शनी पनि राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख डा. लाभले मधेश प्रदेश अन्नको भण्डार मात्र नभई कला, चिन्तन र कविको महासागर रहेको बताए । उनले मेधश प्रदेशका गाउँघरका आमाहरुले घरको भित्तामा कोर्दै आएका चित्रहरु आज देश विदेशमा चिनिने गरेकोमा गर्व महसुस भएको बताए ।

मधेशको ग्रामिण भेगको मिथिला चित्रकलालाई मधेश ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनीले आधुनिक युग संग जोड्ने काम गरेको प्रदेश प्रमुख लाभले उल्लेख गरे । ललितकला मनोरञ्जनमात्र नभई समाजको ऐना र राष्ट्रको पहिचानको मेरुदण्ड रहेको उनले बताए । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली देशको संस्कृति, कला, साहित्य, परम्परालाई जिवन्त राख्न प्रज्ञा प्रतिष्ठानले सँधै भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरे ।

Comment


Related News

Latest News

Trending News