२०८२ माघ २९, बिहीबार ०७:३७

सिरहा कारागारमा हतियारसहित नगद रुपैया भेटिएको घटना बारे तथ्य खुलेको छ । माघ २६ गते भएको घटना सन्दर्भमा कारागारभित्र हतियार कसरी छिर्यो, कारागारभित्रै कथित नाइकेले चलाइरहेको आापराधिक गतिविधि बारे तथ्य खुलेको हो ।

यी बाहेक कारागारभित्रै जुआतास खेल्ने/खेलाउने, अवैध सुर्तिजन्यसहित मादक पदार्थको खुलेआम बिक्रीवितरण भइरहेको तथ्य समेत बाहिर आएको छ । कारागार भित्रै कारागार प्रशासन बाहेक कथित नाइके इन्द्रजीत यादवको स्वेच्छाचारी गतिविधि कैदीबन्दीलाई यातना दिने लगायतका कुरा बाहिरिएपछि जेल प्रशासनको समेत ती घटनामा संलग्न रहेको शंका उपंशका उब्जिएको छ ।

कारागारभित्र पेस्तोल र गोलीगट्ठासहितका हतियार कसरी छिरयो बारे जिल्ला प्रशासन कार्यालय र कारागार प्रशासन पन्छिन खोजिरहेका छन् । तर कारागार स्रोतका अनुसार भने फेला परेका पेस्तोल सिरहा कारागारमा भने विगत दुई वर्षदेखि थियो । पछिल्लो समय पनि पेस्तोलको सूचना जिल्ला प्रहरी कार्यालयमा एक महिना अघि नै पुगेपनि अपरेशन नगरी बेवास्ता गरिएको श्रोतको भनाई छ ।

इन्द्रजीतले कारागारलाई आफ्नो कब्जामा लिएर पेस्तोलको आडमा आपराधिक गतिविधि गरिरहेको एक भारतीय कैदीबन्दीले यसको सूचना एक महिना अघि नै प्रहरीलाई दिएको स्रोतको दाबी छ । ती सूचना बारे कारागार प्रशासनले सूचना पाएको स्वीकार्दै अपरेशन चलाउंदा पेस्तोल बरामद हुन नसकेको बताउंछन् ।

यसरी फेला प¥यो पेस्तोल

माघ २५ गतेका दिन कारागारभित्रका १० जना कैदीबन्दीको आँखामा पट्टी बाँधी, हात बाँधेर इन्द्रजीत समूहका व्यक्तिहरुले कुटपिट गरी ती कैदीहरुलाई कारागारको कोठाबाट बाहिर निकालेर गेटमा ताल्चा लगाएर बन्दी बनाए । घटनाकै दिन साँझ ६ बजेतिर यो सूचना जिल्ला प्रहरी कार्यालयसम्म पुग्यो ।

घटना बारे जानकारी हुने लगतै जिल्ला प्रहरीले सिरहामा रहेको नेपाली सेनाको नन्दा बक्स गण, सशस्त्र प्रहरीको टोलीलाई घटनाबारे अवगत गराए । त्यसपछि तीन वटै सुरक्षा निकायको टोली दलबलसहित कारागार पुग्यो । त्यहाँ पुग्दा १० जना कैदीबन्दी हात बाँधिएको र आँखामा पट्टी लगाइएको अवस्थामा फेला पारे । आँखामा पट्टी लगाएर हात बाँधिएका १० जनाको उद्धार गरेर जिल्ला प्रहरी कार्यालय सिरहा लगियो । घटना बारे ती सुरक्षाकर्मी टोलीले सोधपुछ गर्दा प्रारम्भिक चरणमै इन्द्रजीत समूहका कैदीहरुले घरेलु हातहतियारले कुटपिट गर्ने, धाकधम्की दिएको थियो ।

भोलिपल्ट २६ माघमा सेनाकै सहयोगमा मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी तालिमप्राप्त कुकुर समेत झिकाएर कारागारभित्र सर्च अपरेशन चलाइयो । कारागारको पूर्वतर्फ रहेको जिम हलभित्रको पूरानो ब्लैंकेटमा लुकाएर राखेको अवस्थामा पेस्ताल, ७.६२ लेखेको लाइभ २ राउण्ड गोली र अन्य घरेलु हतियार पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालको भनाई छ ।

कारागारभित्रै लागूऔषध, मदिरा, जुवातास जस्ता निषेध वस्तुहरू पाइने, खाने–खेल्ने जस्ता विषयहरू सार्वजनिक हुँदै आएको कुरा पनि सर्च अभियानकै क्रममा खुलेर आएको उनले बताए । कारागारको चौघेरामा सीमित हुने कैदीबन्दी कारागारभित्रै पेस्तोल र गोलीगठ्ठा राखेर राखेर त्यसको बलमा कारागारमा प्रभुत्व जमाउने, कारागार प्रशासन आफ्नो कब्जामा लिने, नाइके बन्ने र आफ्नो शासन चलाउनेसम्मको अवस्था अपरेशन टोलीले फेला पारेको थियो ।

कारागारभित्र इन्द्रजीतको शासन

यी सबै घटनाका मुख्य नाइके भनिएका इन्द्रजीत कर्तव्य ज्यानको कसुरमा २५ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् । उनी कारागारका नाइके नभए पनि उनकै नियन्त्रणमा कारागार प्रशासन चल्ने गरेको सुरक्षा स्रोतको भनाई छ ।

हतियार फेला परेपछि प्रहरीले घटनामा संलग्न कथित नाइके इन्द्रजीतलाई नियन्त्रणमा लिंदा उनका सहयोगी १२ जनाले आक्रमण गर्न थालेपछि प्रहरीले लाठी चार्जदेखि गोली फायरसम्म माघ २६ गते गर्नुपरेको थियो । सो घटनापछि कारागारको अवस्था तनावग्रस्त बनेको थियो । घटना पश्चात इन्द्रजीतसहित उपद्रव मचाउने १३ जना कैदीलाई अन्यत्र सारिएको छ ।

इन्द्रजीतसहित ३ जनालाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलमा पठाइएको छ । ७ जनालाई नुवाकोट कारागारमा लगिएको छ भने ३ जनालाई भने रौतहट कारागार पठाइएको डीएसपी पालले जनाएका छन् । त्यस्तै आँखामा पट्टी बाँधेर यातना दिइएका १० जना कैदीलाई पनि झापा, मोरङ र सुनसरी कारागारमा सारिएको छ ।

अहिले मात्रै होइन यसअघि पनि इन्द्रजितको समूहले कारागारमा आतंक सिर्जना गर्दै आएको थियो । गत ४ साउनमा मात्रै १३ जनामाथि कारागारभित्रै कुटपिट गरेको थियो । २४ कात्तिक २०८१ मा कारागारभित्र महँगोमा सामान किनबेच गर्ने गरेको विषयमा तनाव सिर्जना भएको थियो ।

त्यतिबेला छानबिन समिति समेत गठन गरेर अध्ययन गरिएको थियो । यसअघि १२ चैत २०७९ मा पनि सिरहा कारागारमा झडप भएको थियो । त्यतिबेला चौकीदार यादव गिरी थिए । उनीमाथि कैदीबन्दीहरू आक्रमणको प्रयास गरेपछि त्यहाँबाट सिन्धुली कारागार सारिएको थियो । २०७८ माघमा पनि कारागारमा झडप हुँदा चार कैदी घाइते भएका थिए ।

Comment


Related News

Latest News

Trending News