प्रतिनिधि सभाको निर्वाचन नजिँकदै जाँदा रौतहटको गौरमा करदाता सेवा कार्यालय सार्न लागेको भन्दै प्रदर्शनसहित बजार बन्द भएको छ ।
शुक्रवार भएको सो प्रदर्शनले जिल्लाको सदरमुकाम समेत रहेका गौर बजारको अवस्था तनावग्रस्त बनेको छ । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्न लागेको भन्दै उद्योग वाणिज्य संघको अगुवाईमा स्थानिय व्यापारीहरु सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।
करदाता सेवा आन्दोलन अहिले उम्मेदवाहरुको लागि चुनावी मुद्दा समेत बनेको छ । स्थानीय व्यापारी र व्यवसायीको कडा अवरोधपछि ट्रकमा लोड गरिएका कार्यालयका सामग्रीहरू पुनः अनलोड गरी कार्यालयमै फिर्ता गरिएको छ । कार्यालयका सामग्री बोकेको ट्रक बजारबाट निस्कन लाग्दा रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीसहित स्थानीय व्यापारीहरू ट्रकअगाडि धर्नामा बसेका थिए । स्थिति तनावपूर्ण बनेपछि घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
चुनावकै बेला यसरी बजार बन्दले उद्योग व्यवासयमा नराम्रो असर पर्ने भनी एक पक्षको आलोचना समेत रहेको छ । जेनजी आन्दोलन पश्चात सुस्त बनेका बजार चुनावी सरगर्मीले चहलपहल बढदै गएकोमा यसरी बन्द गर्नुले आर्थिक अवस्था नराम्रो प्रभावित हुनेछ ।
रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले निर्वाचनको मुखमा कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाउँदै पूर्वजानकारीबिना गरिएको कदम अस्वीकार्य भएको बताएका छन् । “गौरबाट सेवा हटाउने निर्णय तत्काल फिर्ता लिनुपर्छ,” उनले भनेका छन् । यता नेपाली काँग्रेसका युवा नेता नितेशकुमार गुप्ताले गौरमै करदाता सेवा कार्यालय पूर्ण क्षमताका साथ सञ्चालन हुनुपर्ने माग गरे। उनले कार्यालय सारिए सेवाग्राहीलाई अनावश्यक दुःख हुने तर्क गरेका छन् ।
यस्तै, धर्नास्थलमा पुगेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता अजयकुमार गुप्ता, नेपाल कम्युनिष्ट पार्टीका नेता रेबन्त झा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीले पनि कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाएका छन् । उनीहरूले निर्वाचनको पूर्वसन्ध्यामा सेवा केन्द्र हटाउने कदमले स्थानीय सेवाग्राही र व्यापारीहरू प्रत्यक्ष मारमा पर्ने चेतावनी दिएका छन ।
गौरका व्यापारीहरूले पसल बन्द गरेर प्रदर्शन गरेका छन् । भन्सार कार्यालय अगाडि नाराबाजी जारी छ भने सरकारको निर्णय फिर्ता लिन माग गरिएको छ । अहिले गौर बजार पूर्ण रूपमा प्रभावित बनेको छ । प्रशासनले अवस्था सामान्य बनाउने प्रयास जारी रहेको जनाएको छ ।



