२०८२ फाल्गुन ३, आईतवार १७:५७

महा शिवरात्रीको अवसर पारेर रौतहटस्थित शिवनगर महादेव मन्दिरमा आइतबार श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ। बिहान सबेरैदेखि सुरु भएको दर्शनार्थीको लर्को दिउँसोसम्म झन् बाक्लिँदै गएको थियो।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार मध्यान्ह १२ बजेसम्म ५० हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन्। यस वर्षको शिवरात्री मेलामा करिब दुई लाखभन्दा बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको उनले बताए।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्लाभरबाट ७५ जनाभन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए। मन्दिर परिसर, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा निगरानी बढाइएको छ।

स्थानीय धार्मिक विश्वासअनुसार शिवनगर महादेवमा जल चढाउँदा दरिद्रता हट्ने, सन्तान प्राप्ति हुने र रोग–व्याधि निको हुने जनआस्था रहिआएको छ। विशेषगरी श्रीपञ्चमी र महा शिवरात्रीमा ‘भेन्टा’ चढाउँदा छालासम्बन्धी रोग ‘मूसा’ हराउने विश्वास रहेको मन्दिरका मुख्य पुजारी कृष्णदेव गिरीले बताए।

यसै आस्थाका आधारमा आइतबार धेरै श्रद्धालु बाँसको लठ्ठीमा डोरीको दुवै छेउमा भेन्टा बाँधेर काँधमा बोकी मन्दिरतर्फ जाँदै गरेको दृश्य देखिन्थ्यो।

शिवनगर महादेव मन्दिरमा रौतहटसहित सर्लाही, पर्सा, बारा तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत हजारौँ भक्तजन आउने गर्दछन्। प्रत्येक आइतबार जल चढाउने परम्परा यहाँ निरन्तर रहँदै आएको छ, जसले भक्तजनमा सुख–समृद्धि र शान्ति प्राप्त हुने विश्वासलाई अझ बलियो बनाएको छ।

Comment


Related News

Latest News

Trending News