२०८२ फाल्गुन ४, सोमबार ११:४४

जिल्ला प्रहरी कार्यालय रौतहटले गत माघ महिनामा सम्पादन गरेका गतिविधिहरूको समग्र विवरण सार्वजनिक गरेको छ। कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अपराध नियन्त्रण, राजस्व संकलन र समुदाय–प्रहरी सहकार्यमा उल्लेखनीय काम गरिएको जनाइएको छ।

७७ आपराधिक मुद्दा दर्ता

माघ महिनाभर जिल्लामा ७७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी ७, आत्महत्या ८, चोरी २ तथा सामाजिक अपराधका २३ मुद्दा रहेका छन्। बैंकिङ कसुरका १७ मुद्दा दर्ता हुनु आर्थिक अपराधको चुनौती बढ्दै गएको संकेतका रूपमा प्रहरीको विश्लेषण छ।

यस अवधिमा २८४ वटा साधारण उजुरी दर्ता भएकामा १७३ फर्छ्यौट भइसकेका छन् भने १११ उजुरीमाथि कारबाही प्रक्रिया जारी रहेको छ। साथै विभिन्न मुद्दामा संलग्न ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।

लागुऔषध र भन्सार छली नियन्त्रणमा सक्रियता

लागुऔषध सम्बन्धी कारबाहीमा एक जनालाई पक्राउ गरी ५००र५०० पिस डाइजेपाम, फेनारगन र नुरफिन बरामद गरिएको छ।

सीमावर्ती जिल्ला भएकाले अवैध भन्सार छली नियन्त्रणमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ। माघ महिनामा ६२ लाख ८९ हजार ९३० रुपैयाँ बराबरका अवैध सामान तथा पाँच वटा सवारी साधन बरामद गरिएको छ। राजस्व छलीतर्फ ६४ हजार ६५० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिइएको छ भने प्राकृतिक स्रोत दोहनमा संलग्न दुई सवारी साधनलाई कारबाही गर्दै ६ हजार रुपैयाँ जरिवाना गरिएको छ।

९२ सवारी दुर्घटना, ५ जनाको ज्यान गयो

माघमा जिल्लाभर ९२ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ७४५ सवारी साधनलाई कारबाही गरी ७ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताएका छन्। दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही रहेको प्रहरीको निष्कर्ष छ।

समुदाय–प्रहरी साझेदारी र सचेतना कार्यक्रम

अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध, आत्महत्या तथा महिला हिंसाविरुद्ध ५६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। १२३ जना प्रहरी परिचालनमार्फत १,२०८ जना लाभान्वित भएका छन्।

विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत आत्महत्या, साइबर अपराध र लैङ्गिक हिंसाविरुद्ध १५ कार्यक्रम सञ्चालन गरी ६५७ विद्यार्थीलाई प्रशिक्षण दिइएको छ।

झडप नियन्त्रणदेखि डिजिटल सेवा विस्तारसम्म

सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उत्पन्न झडप नियन्त्रणका लागि २८३ जना प्रहरी परिचालन गरिएको थियो। स्थिति नियन्त्रणमा लिन ६८ राउन्ड ग्यास सेल प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ। साथै ११ वटा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन सफलतापूर्वक गरिएको छ।

सेवाग्राहीको गुनासो सुन्न क्युआर कोड प्रणाली लागू गरिएको छ भने हराएका दुई मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ। कर्मचारीको मनोबल अभिवृद्धिका लागि “प्रहरी अफ द मन्थ” कार्यक्रमलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

“प्रो–एक्टिभ पोलिसिङ र सिमानामा २४ सै घण्टा गस्ती परिचालनमार्फत जिल्लाको शान्ति सुरक्षा मजबुत बनाएका छौँ,” प्रवक्ता बस्यालले बताएका छन्।

Comment


Related News

Latest News

Trending News