२०८२ फाल्गुन ५, मंगलवार १०:५१

वैदेशिक रोजगारीको सुनौलो सपना देखाएर कुबेत पुर्‍याइएका रौतहटका एक युवक अहिले कोठामै थुनिएजस्तै जीवन बिताइरहेका छन्। एजेन्टले सम्पर्क तोडेपछि उनी एक महिनादेखि बेरोजगार अवस्थामा, साथीहरूको भरमा गुजारा गर्न बाध्य भएका छन्।

कटहरिया नगरपालिका–३ बिर्ती प्रष्टोकाका २४ वर्षीय सन्दीप यादवले जनही दुई लाख ८९ हजार रुपैयाँ बुझाएर ६ महिना अघि कुबेत उडेका थिए। सर्लाहीका अजय कुमार साहसहित पाँच जना युवकलाई बसुन्धरास्थित नमो बुद्ध मेनपावर मार्फत पठाइएको थियो। सर्लाही मानपुर हरपूर्वाका एजेन्ट अजय कुमार यादवले मासिक १०० कुवेती दिनार तलब, खाना–बस्ने सुविधा र ८ घण्टा मात्रै काम हुने आश्वासन दिएका थिए।

सर्त र वास्तविकताबीच ठूलो अन्तर

कुबेत पुगेको १५ दिनमै कामको प्रकृति फेरियो। सन्दीपलाई हुन्डाई कम्पनीमा शौचालय सफा गर्ने र फोहर उठाउने काममा लगाइयो। “सुरक्षाका आधारभूत सामग्रीसमेत दिइएन,” उनले गुनासो गरे।

मासिक १०० दिनार तलब पाए पनि खाना, नास्ता र रिचार्ज आफैंले बेहोर्नुपर्दा ३५ दिनार खर्च हुने गरेको उनले बताए। “तीन लाख लगानी गरेर अन्त्यमा ६५ दिनार बचतरु यो त ठगी नै भयो,” सन्दीप भन्छन्।

‘घर पठाउँछु’ भन्दै काम छोड्न लगाइयो

दुई महिना काम गरेपछि उनले नेपाल फर्काइदिन एजेन्टसँग आग्रह गरे। सुरुमा “मिलाउँछु” भन्दै ढाडस दिएका एजेन्टले पछि काम नै छोडेर कोठामा बस्न भने। “अब ३०० दिनार पठाऊ, अनि घर बोलाउँछु भन्यो,” सन्दीपले सुनाए। रकम जुटाउन नसकेपछि एजेन्टले फोन उठाउनै छोडेको उनको आरोप छ।

काम छोडेको एक महिना २० दिन बितिसक्दा समेत उनले पाउनुपर्ने एक महिनाको तलबसमेत पाएका छैनन्।

प्लास्टिक ओछ्याएर बित्दै दिन

साथै गएका पाँचै जना एउटै कोठामा बसिरहेका छन्। कम्पनीले खाली कोठा दिए पनि ओछ्याउने–ओढ्ने सुविधा छैन। “प्लास्टिक ओछ्याएर सुतिरहेका छौं, कतिपटक भोकै बस्नु परेको छ,” उनले भने।

सम्पर्कमा छैन मेनपावर

एजेन्ट अजय कुमार यादवले भने “फर्काउने प्रक्रिया अघि बढिरहेको” दाबी गरे। तर थप विवरण दिन चाहेनन्। नमो बुद्ध मेनपावर का प्रतिनिधिसँग सम्पर्क हुन सकेन।

वैदेशिक रोजगारीको नाममा लाखौं असुलेर युवालाई अलपत्र पार्ने प्रवृत्तिले पुनः प्रश्न खडा गरेको छ—सपना बेच्नेहरूलाई कहिले जिम्मेवार बनाइनेरु

Comment


Related News

Latest News

Trending News