नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले भावी प्रधानमन्त्रीको रूपमा सिफारिस गरिएका गगन थापा नै आगामी चुनाव जितेर प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
उनले भावी प्रधानमन्त्री थापा हुने र यस विषयमा कांग्रेस डिबेट गर्न पनि तयार रहेको बताएका छन् ।
यादवले भने, ‘व्यवस्था होइन, अवस्था फेर्नुपर्छ भनेर लागेका छौँ । आसन्न निर्वाचनमा उहाँ (सभापति) को भिजन, गन्तव्य र दृष्टिकोणलाई समेटेर प्रतिबद्धतापत्र तयार गरेका छौँ । भावी प्रधानमन्त्रीको रूपमा सिफारिस गरेका छौँ ।’
यादवले भावी प्रधानमन्त्रीको रूपमा सिफारिस गरिएका सभापति थापालाई मधेशको स्थितिलाई नजिकबाट नियाल्नका लागि पनि सर्लाही ४ बाट उम्मेदवार बनाइएको बताए ।
नेपाली कांग्रेसले भोलि बुधबार जनकपुरमा आमसभा गरेर चुनावी घोषणापत्र पनि सार्वजनिक गर्दै छ । उक्त कार्यक्रममा १ लाखभन्दा बढी मानिसहरूको सहभागिता रहने दाबी पनि यादवले गरेका छन् ।



