२०८२ फाल्गुन ७, बिहीबार ०७:१८

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले कांग्रेसले मधेश हारे देश हार्ने भन्दै मधेशलाई कांग्रेसको माइतीको संज्ञा दिएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित पार्टीको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति यादवले मधेश नेपाली कांग्रेसका लागि उर्वरा भूमि भएको टिप्पणी गर्दै यस्तोमा कांग्रेस बढी ल्याउन सकेन भने यहाँका जनताका लागि अहित हुने बताए । ‘नेपाली कांग्रेसका लागि मधेश उर्वरा भूमि हो । मधेश हाम्रो माइती हो, नैहर हो,’ उनले भने, ‘यो कुरा हामीले पहिलेदेखि मान्दै आएका छौँ ।’

उनले विगतमा पार्टीभित्र देखिएको मतमतान्तरका कारण संगठन केही कमजोर बने पनि अहिले पुनः एकताबद्ध ढंगले अघि बढिरहेको दाबी गरे । मनोनयन दर्ताको दिनदेखि नै पुराना तथा भुलेबिर्सेका साथीहरू समेत अग्रपंक्तिमा उभिएर पार्टीलाई जिताउन सक्रिय भएको उनले बताए । सभापति यादवले प्रदेश सरकार सञ्चालनका क्रममा केन्द्रमा अनुकूल सरकार नहुँदा काम गर्न कठिनाइ भएको अनुभव सुनाउँदै आगामी निर्वाचनलाई ठूलो अवसरका रूपमा लिएको उल्लेख गरे ।

‘अब विकास र समृद्धिका लागि समन्वय आवश्यक छ,’ उनले भने । उनले पार्टी सभापति गगन थापाको सर्लाहीबाट उम्मेदवारी मधेशकै लागि अवसर भएको बताए । ‘हाम्रा आदरणीय सभापति पिछडिएको मधेशलाई विकसित मधेश बनाउने संकल्पका साथ आउनुभएको छ,’ यादवको भनाइ थियो ।

Comment


Related News

Latest News

Trending News